राष्ट्रिय सभामा कोशीबाट कांग्रेसका सुनिल थापा निर्विरोध

हाम्रो पेज

२३ पुष २०८२, बुधबार १८:४६

विराटनगर, २३ पुष । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित हुनु भएको हो । निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ । कांग्रेसका सुनिलबहादुर थापाको राष्ट्रिय सभा सदस्यमा एकल उम्मेदवारी परेको छ। कोशी प्रदेशबाट अन्य क्लस्टरमा कांग्रेसका उम्मेदवार रहेका थापाको एकल उम्मेदवारी परेपछि निर्विरोध हुने पक्का भएको हो। राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गर्न बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। निर्धारित समयभित्र उक्त क्लस्टरमा थापाको मात्रै मनोनयन दर्ता भएको कोशी प्रदेश निर्वाचन कार्यालय प्रमुख चोलराज दंगालले जानकारी दिनुभयो । सोही क्लस्टरमा नेपाली कम्युनिस्ट पार्टीले संखुवासभाका हेमराज घिमिरेलई उम्मेदवार बनाएको थियो। उहाँ संखुवासभाबाट आजै हिँडेका कारण समयमै निर्वाचन कार्यालयमा पुग्न सक्नु भएन । घिमिरे पूर्व एकीकृत समाजवादीका नेता हुनुहुन्छ । ३ बजेभित्र उनको मनोनयन दर्ता नभएको कार्यालय प्रमुख दंगालले बताउनुभयो । ’हामीले अहिले नै निर्विरोध निर्वाचित भन्न मिलेन। त्यो क्लस्टरमा थापाको मात्रै उम्मेदवारी परेको छ,’ उहाँले भन्नुभयो । उहाँले आफ्नो उम्मेदवारी दर्ताका लागि वारेसनामा पठाउनु भएको थियो । तर उम्मेदवारी दर्ता हुन सकेन । हस्ताक्षर विनाको वारेस भएकोले मनोनयन दर्ता नभएको मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिनुभयो ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले कोशीमा राष्ट्रिय सभाको निर्वाचनमा मनोनयन दर्ता गराएको छ । गठबन्धनले कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुल्लामा सुनिल थापालाई उमेद्वारको रुपमा अघि सारेको छ । सुनिल थापाको समर्थक रेगिना भट्टराई र प्रस्तावक उद्वव थापा रहनु भएको छ । रोशनी मेचेको सिर्जना राई समर्थक र शोभा चेम्जोङ प्रस्तावकमा रहनु भएकोछ । यस्तै, पोर्तेलको प्रस्तावक छबि चुडाल र समर्थक एकराज कार्की रहनु भएको छ । कोशीमा ३ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुदैछ । सो अनुसार एमालेले २ र काङग्रेसले एक जना उमेद्वार बाडफाड गरेका छन । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खेमराज सुन्दास र नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।सुन्दासले दलिततर्फबाट र न्यौपानेले महिलातर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको हो । अन्य तर्फका उम्मेदवार हेमराज घिमिरे भने अनुपस्थित रहनु भयो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ रहेको छ । कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११४ (उपनिर्वाचनमा मोरङको ग्रामथान अध्यक्ष गुमाएको), एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ (तत्कालिन माओवादीका ३२ र नेकपा एसका ७), जसपा नेपाल र राप्रपाका ४÷४, श्रम संस्कृति पार्टी १ र स्वतन्त्र २ जना रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ (तत्कालिन माओवादी १३ र नेकपा एस ४), राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन्। कोशी प्रदेशमा स्थानीय र प्रदेश सहित कांग्रेसको मतभार ३ हजार ७०३, एमालेको ४ हजार २१०, नेकपाको १ हजार ६४२, राप्रपाको ३९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको ३८ मतभार रहेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ राजनीतक दल दर्ता भएका छन् ।