हाम्रो पेज
काठमाडौं ,अषाढ २०। नेपालमा मनसुनको आगमनसँगै डेंगु, झाडापखाला, हैजा र टाइफाइडजस्ता सरुवा रोगको प्रकोप तीव्र गतिमा फैलिन थालेको छ। सरकारी उदासीनता, कमजोर पूर्वतयारी र जनचेतनाको कमीले गर्दा यो वर्ष अवस्था थप भयावह हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष ६० हजारभन्दा बढी मानिस संक्रमित हुन सक्ने अनुमान गरेको छ। यो वर्षको मनसुन सुरु भएलगत्तै नेपालभर डेंगु र अन्य पानीजन्य रोगको संक्रमणले विकराल रूप लिने संकेत देखिएको छ। जनवरीदेखि जुनसम्मको पहिलो ६ महिनामै देशका ७२ जिल्लामा संक्रमण फैलिइसकेको छ भने लगभग १,५०० जनामा डेंगु पुष्टि भएको छ। वागमती, कोशी र गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित छन् भने काठमाडौं उपत्यका, पोखरा, विराटनगर र धरानजस्ता सहरी क्षेत्रमा दैनिक नयाँ बिरामी थपिइरहेका छन्। तापक्रम र आर्द्रतामा भएको वृद्धिले डेंगु फैलाउने लामखुट्टे पहाडी र हिमाली क्षेत्रमा समेत फैलिन थालेका छन्। हालसम्म १७ वटा पहाडी जिल्लामा डेंगुका बिरामी भेटिनुले संक्रमणको दायरा फराकिलो भएको पुष्टि गर्छ। नेपालमा डेंगुको इतिहास हेर्दा जोखिम हरेक वर्ष बढ्दो क्रममा देखिन्छ । विसं २०६१मा चितवनमा पहिलो पटक डेंगु संक्रमण देखिएको थियो । २०७९मा संक्रमणले महामारीको रूप लियो। देशका सबै ७७ जिल्लामा फैलिँदा करिब ५५ हजार संक्रमित भए भने ८८ जनाको मृत्यु भयो। गत वर्ष करिब ४२ हजार जनामा संक्रमण पुष्टि भयो। विगतका यी तथ्यांकले डेंगु अब सामान्य मौसमी रोग नभई एक राष्ट्रिय स्वास्थ्य चुनौती बनिसकेको देखाउँछ। सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार तनहुँमा डेंगुले प्रकोप आउटब्रेकको रूप लिइसकेको छ र काठमाडौँलगायतका अन्य सहरहरू पनि जुनसुकै बेला प्रकोपको चपेटामा पर्न सक्छन्। विश्व स्वास्थ्य संगठनले पनि यस वर्ष मनसुन र अत्यधिक गर्मीका कारण दक्षिण एसियामा डेंगुलगायत कीटजन्य रोगको जोखिम उच्च रहेको चेतावनी दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमान अनुसार यस वर्ष ६० हजारभन्दा बढी मानिस डेंगुबाट संक्रमित हुन सक्छन्। मनसुनसँगै डेंगु मात्र होइन, झाडापखाला, हैजा र टाइफाइडजस्ता पानीजन्य रोगहरू पनि बढिरहेका छन्। काठमाडौं उपत्यकाको टेकु अस्पतालमा मात्रै दैनिक १२ भन्दा बढी झाडापखालाका बिरामी पुग्ने गरेका छन्। खानेपानी तथा सरसफाइ विभागको परीक्षणले काठमाडौंमा आपूर्ति हुने पानीमा पेटको रोग फैलाउने प्रमुख कारक फेकल कोलिफर्म को मात्रा अत्यधिक रहेको देखाएको छ, जसले हैजाजस्तो गम्भीर रोगको जोखिम बढाएको छ। डा. पुनका अनुसार नाकबाट रगत बग्ने, पेट दुख्ने, अत्यधिक थकान र तेज ज्वरो जस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्था जानुपर्छ। हाल नेपालमा डेंगुको डीईएनभी–३ सिरोटाइप सबैभन्दा सक्रिय छ, जसले दोस्रो पटक संक्रमण हुँदा ज्यानै लिन सक्ने गम्भीर अवस्था सिर्जना गर्न सक्छ।