प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण, अमेरिका उड्दै, हुने छैन ‘रेड कार्पेट र गार्ड अफ अनर’

हाम्रो पेज

६ आश्विन २०८३, मंगलवार १३:१०

काठमाडौं, ६ आश्विन ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अपराह्न अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ । यो प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण हो । संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्न लाग्नु भएको हो । प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम छ। उहाँले महासभामा असोज ८ गते सम्बोधन गर्ने तालिका छ। महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क पुगिसकेको छ। रसुवामा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्री नै महासभामा सहभागी भएर आवाज उठाउनुपर्ने सार्वजनिक दबाब बढेपछि शाह राष्ट्र संघको महासभामा जान तयार भएका हुन्। त्यसअघि परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तय भएको थियो।
प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गरेका छन्। संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रस्तुत गर्ने लिखित सम्बोधनमा जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोगको अपिल समावेश छ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाँदा विमानस्थलमा रेड कार्पेट, गार्ड अफ अनर र औपचारिक विदाइ कार्यक्रम आयोजना नहुने भएको छ। प्रधानमन्त्री शाह आज साँझ न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक विदेश भ्रमणमा जाँदै हुनुहुन्छ । विदेशमा भ्रमणमा जाँदा शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने परम्परा तोड्न लागेका हुन्। भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले विदेश भ्रमणमा जाँदा कुनै तामझाम आयोजना नगर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रधानमन्त्रीको शाहले भ्रमण दल पनि सानो बनाउनु भएको छ । उहाँसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुईजना सुरक्षाकर्मी र एकजना शिष्टाचार अधिकृत न्युयोर्कसहित ७ जनाको प्रतिनिधि मण्डल मात्रै न्यूयोर्क जाने भएको छ। प्रधामन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’ लाई सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग उहाँको भेटवार्ता हुनेछ। प्रधानमन्त्री असोज १० गते काठमाडौँ फर्कने कार्यक्रम छ । उहाँ विदेश भ्रमणबाट नेपाल फर्कदा पनि विमानस्थलमा रातो कार्पेट, गार्ड अफ अनर र स्वागतका लागि विशिष्ट अधिकारीहरुको लामो ताँती नहुने ‍प्रधानमन्त्री कार्यालयले जनाएको छ।