पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालतको आदेश

हाम्रो पेज

२ असार २०८२, सोमबार १९:४९
काठमाडौं, २ अषाढ I वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। विद्युतीय कारोबार ऐन साइबर अपराध अन्तर्गत अनुसन्धानकालागि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पाठकले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले आज यस्तो आदेश दिएको हो।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिँदै यस विषयमा थप छलफलका लागि दुवै पक्ष सरकारी वकिल र निवेदकलाई असार ५ गते बोलाएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले जेठ २८ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा पक्राउ रोक्न माग गर्दै निषेधाज्ञाको रिट दायर गर्नुभएको थियो ।
निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा. भीमार्जुन आचार्य तथा अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोषबाबु सिग्देल लगायतले बहस गर्नुभएको थियो । राज्य पछिल्लो समय प्रेस र आलोचकप्रति अनुदार बन्दै गएको र साइबर कानुनको दुरुपयोग गरी पत्रकारमाथि धरपकड गरिरहेको भन्दै अधिवक्ताहरुले राज्यशक्तिमा रहेका व्यक्तिहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको अवस्थामा अदालतले नागरिकको संवैधानिक हकको संरक्षण गर्नुपर्ने बहस गरेका थिए । यो आदेशले समाचार लेखेकै भरमा पत्रकारमाथि साइबर कानुन लगाउने प्रवृत्ति र प्रेस स्वतन्त्रताको सीमाबारेको बहसमा नयाँ आयाम थपेको छ। अब असार ५ गते हुने दुवै पक्षको छलफलपछि अदालतले यो विषयमा थप निर्णय दिनेछ।