search logo
NOTIFICATIONS

युक्रेनमाथि रुसको भीषण आक्रमण, ४० वटा मिसाइल र ४०० भन्दा बढी ड्रोन प्रहार

हाम्रो पेज

२३ जेष्ठ २०८२, शुक्रबार १७:४७
एजेन्सी, २३ जेठ I रूसले युक्रेनमाथि आज एक ठूलो सैन्य आक्रमण गरेको छ, जसमा करिब ४० वटा मिसाइल र ४०० भन्दा बढी ड्रोन प्रयोग गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार, यस आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि पुष्टि गर्दै भने कि रूसले युक्रेनका विभिन्न स्थानहरूमा ४०० भन्दा बढी ड्रोन र ४० भन्दा बढी मिसाइल प्रहार गरेको छ। बीबीसीले जनाएको छ कि युक्रेनी सेनाले ३० वटा मिसाइल र २०० वटा ड्रोनलाई सफलतापूर्वक प्रत्युत्तर दिएको छ। यस आक्रमणले युक्रेनका सहरहरूमा ठूलो क्षति पुर्याएको छ, भवनहरू भत्किएका छन् र मेट्रो ट्र्याकहरू पनि नष्ट भएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै रूस कहिल्यै परिवर्तन नहुने र निरन्तर आक्रमण जारी राख्ने प्रवृत्तिमा रहेको बताउनु भएको छ ।

यसअघि युक्रेनले पनि आइतबार ठूलो संख्यामा ड्रोन प्रयोग गरी रूसमाथि आक्रमण गरेको थियो। युक्रेनी गुप्तचर संस्था एसबियूले १८ महिनाभन्दा लामो योजना अनुसार उक्त हमला अति गोप्य तरिकाले कार्यान्वयन गरेको थियो। यस आक्रमण अन्तर्गत युक्रेनले रूसका चारवटा हवाई अड्डामा हमला गरेको दाबी गरेको छ। युक्रेनले ४१ वटा रूसी विमानहरू ध्वस्त पारेको जनाएको छ, जसमा टियू–९५ र टियू–२२ बमवर्षक विमानहरू पनि छन्। बमवर्षक विमानहरू सामान्य लडाकू विमानभन्दा ठूलो र शक्तिशाली हुन्छन्, जसले भारी बम बोकेर टाढा दूरीसम्म उड्न सक्छन्। युक्रेनले यस आक्रमणलाई ‘इस्पाइडर्स वेभ’ नाम दिएको छ र यसलाई राष्ट्रपति जेलेन्स्कीको प्रत्यक्ष निगरानीमा अति गोप्य रूपमा सञ्चालन गरिएको बताएको छ। यो घटनाले युक्रेन र रूसबीचको द्वन्द्व अझै तीव्र र जटिल भएको देखाउँछ। दुबै पक्षले एकअर्कालाई ठूलो क्षति पुर्याउने प्रयास गरिरहेका छन् र यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय शान्तिमा गम्भीर प्रभाव पारिरहेको छ। युक्रेनले आफ्नो भूमिबाट हजारौं किलोमिटर टाढा रहेका रूसी सैन्य संरचनाहरूलाई लक्षित गर्दै आक्रमण गरेको छ भने रूसले पनि युक्रेनका विभिन्न क्षेत्रहरूमा लगातार आक्रमण जारी राखेको छ। यसरी, पछिल्लो समय युक्रेन–रूस द्वन्द्वमा दुवै पक्षले उच्चस्तरीय सैन्य रणनीति र प्रविधिको प्रयोग गर्दै एकअर्कामा प्रहार गरिरहेका छन्। यो द्वन्द्वले युक्रेनको जनजीवनमा ठूलो संकट ल्याएको छ भने अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई ध्यान दिएर समाधान खोज्नुपर्ने आवश्यकतालाई जोड दिएको छ।