एनपीएलमा आज २ खेलः चितवन भर्सेस कर्णाली र विराटनगर भर्सेस पोखरा

हाम्रो पेज

२ मंसिर २०८२, मंगलवार ११:३२

काठमाडौं २ मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् । आज हुने पहिलो खेलमा यसअघि प्लेअफसम्मको यात्रा तय गरेका चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । यसअघि गत सिजन तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएका थियो । कर्णालीले भने चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो । यस्तै, लिग चरणमा पनि कर्णालीले चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर र पोखरा लिग चरणबाटै बाहिरिएका थिए । विराटनगरले पहिलो संस्करण पाँचौँ र पोखराले सातौँ स्थानमा रहँदै टुंग्याएको थियो । पहिलो संस्करणमा यी दुई टिमबीच भेट हुँदा पोखराविरुद्ध विराटनगरले सुपर ओभरमा जित निकालेको थियो । यसअघि, प्रतियोगिताको उद्घाटन खेलमा आइतबार काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइटमा खेल भएको थियो । प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले टोलीले १ करोड १० लाख रुपैयाँ पाउने छ । दोस्रो हुनेले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।