मोरङकी १२ वर्षीया अंशु गौतमको बीभत्स हत्याः ५९ वर्षीय छिमेकी पक्राउ, बलात्कारपछि पोल खुल्ने डरले हत्या

हाम्रो पेज

२१ मंसिर २०८२, आईतवार १४:४०

विराटनगर २१ मंसिर ।  मोरङकी १२ वर्षीया अंशु गौतमको बीभत्स हत्याः ५९ वर्षीय छिमेकी पक्राउ, बलात्कारपछि पोल खुल्ने डरले घाँटी रेटेको खुलासा
विराटनगर २१ मंसिर । मोरङको लेटाङ नगरपालिका–२ की १२ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले डेढ महिनापछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न ५९ वर्षीय पदम अधिकारीलाई सार्वजनिक गरेको हो। ज्याला मजदुरी गर्ने अधिकारी मृतक बालिकाका छिमेकी हुन्। प्रहरीका अनुसार बलात्कारपछि बालिकाले घरमा पोल लगाइदिने डरले अधिकारीले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका थिए।

यसरी भएको थियो घटना 
प्रहरीको अनुसन्धानबाट खुलेको विवरण अनुसार, असोज २१ गते विद्यालय गएकी अंशुलाई आरोपी अधिकारीले फकाएर आफूसँगै लगेका थिए। विद्यालयनजिकै खेलिरहेकी अंशु र उनकी साथी युरिका महतारालाई देखेका अधिकारीले सुरुमा युरिकालाई पाँच रुपैयाँ दिएर दिदी खोज्नु भन्दै त्यहाँबाट पठाएका थिए। एक्लै भएपछि उनले अंशुलाई जंगलमा घाँस काट्न सघाउने बहानामा साइकलमा राखेर करिब चार किलोमिटर भित्र जंगलमा पुर्‍याएका थिए। त्यहाँ उनले बालिकालाई बलात्कार गरे। त्यसपछि बालिकाले घटनाबारे घरमा बताइदिने डरले अधिकारीले सुरुमा घाँटी थिचे र पछि घाँस काट्ने हँसियाले घाँटी रेटेर बीभत्स हत्या गरेको अनुसन्धानबाट खुलेको छ। असोज २१ गते हराएकी अंशु अबेरसम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेका थिए। कतै फेला नपरेपछि भोलिपल्ट प्रहरीमा उजुरी दिइएको थियो। प्रहरीको खोजी जारी रहँदा कात्तिक ७ गते, अर्थात् हराएको १७ दिनपछि बेलबारीको चिसाङ साझेदारी वनमा घाँस–दाउरा गर्न गएका स्थानीयले दुर्गन्धित अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा भेटिएको चप्पल, कालो हाफ पाइन्ट र कपडाको आधारमा मृतकका बुबा नवीन गौतमले शव आफ्नै छोरीको भएको सनाखत गरेका थिए। यद्यपि, वैज्ञानिक पुष्टिका लागि प्रहरीले डीएनए परीक्षण समेत गराएको थियो। घटना लगत्तै आरोपी पदम अधिकारी एक्कासि गाउँ छोडेर भारतको आसामतिर भागेका थिए। उनी अचानक फरार भएपछि प्रहरीको शंका उनीमाथि केन्द्रित भयो। मोरङ प्रहरीका एसपी कवित कटुवालका अनुसार, प्रहरीले निकै लामो र मिहिनेतपूर्ण अनुसन्धानपछि मात्र अपराधीलाई पक्राउ गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र कोशी प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा विशेष अनुसन्धान टोली गठन गरेको थियो । प्रहरीले यस अनुसन्धान अभियानलाई ‘अपरेसन जेएजी’ अर्थात अपरेशन जग नामकरण गरेको थियो । एसपी कटुवालले भन्नुभयो, “हामीले मोबाइल डेटा, कल डिटेल र ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ तथा ४५ जनाको लिखित बयान लियौं। केन्द्रीय अनुसन्धान ब्युरो, कोसी प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा उनी भारत भागेको पत्ता लाग्यो र हामी उनीसम्म पुग्न सफल भयौं।” प्रहरीले यो घटनालाई पारिवारिक रिसइबी र यौन चाहना परिपूर्तिका लागि गरिएको जघन्य अपराधको रूपमा लिएको छ। कक्षा ५ मा अध्ययनरत कलिलो उमेरकी बालिकामाथि भएको यो क्रूर अपराधविरुद्ध प्रहरीले आरोपी अधिकारीमाथि मुलुकी अपराध संहिता अन्तर्गत ज्यान सम्बन्धी र करणी सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। अंशुको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अधिकारीलाई मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले ‘जबरजस्ती करणी’ र ‘कर्तव्य ज्यान’ मुद्दामा विस्तृत अनुसन्धान सुरु गरेको छ ।