नयाँ दिल्लीमा रवि र मोदी भेटवार्ता

हाम्रो पेज

२० जेष्ठ २०८३, बुधबार १४:२९
रविसँगको भेटपछि मोदी,साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं


काठमाडौं, २० जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । भारतको भ्रमणमा रहेका लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभएको हो । भेटटपछि मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । भारत भ्रमणमा रहेका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उहाँले यस्तो धारणा राख्नु भएको हो । उहाँले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गर्नुभएको छ । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भन्नु भएको छ । मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको उल्लेख गर्नुभएको छ।
‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ रविसँगको भेटपछि मोदीले फेसबुकमा लेख्नु भएको छ । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।