विराटनगरमा ‘मिथिला थाली’ को नयाँ आउटलेट विस्तार

हाम्रो पेज

७ जेष्ठ २०८३, बिहीबार १७:०८
विराटनगर, ७ जेठ । बेलायतको ‘मास्टरशेफः द प्रोफेशनल्स’ बाट अन्तर्राष्ट्रिय पहिचान बनाउनुभएका सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्राण्डलाई विराटनगरमा समेत विस्तार गर्नुभएको छ । विराटनगर विमानस्थलबाट करिब डेढ किलोमिटर दूरीमा पर्ने कोशी हाइवे क्षेत्रमा रहेको डीडीसी दुध फार्म अगाडि सञ्चालनमा ल्याईएको मिथिला थालीको यो पाँचौं आउटलेट हो ।
मिथिला संस्कृति र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित एउटै छानामुनि दुवै अवधारणा समेटिएको नयाँ आउटलेट सञ्चालनमा ल्याएको सेफ सन्तोष साहले बताउनुभयो । ‘मिथिला संस्कृतिको र परिकारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले देशका मुख्य शहरहरुमा मिथिला थाली सञ्चालनमा ल्याईएको हो, उहाँले भन्नुभयो ।’ बाल्यकालदेखि नै यस संस्कृति र खानपानसँग जोडिएको अनुभवलाई अहिले व्यावसायिक रूपमा विस्तार गरिरहेको उहाँको भनाइ थियो ।
यस आउटलेटमा प्रारम्भिक चरणमा भित्र र बाहिर गरी करिब एकसय जनासम्म बसेर खाना खान मिल्ने व्यवस्था छ । विस्तारपछि क्षमता बढाएर करिब दुईसय ५० जनासम्म पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । जसअनुसार सेमिनार, गोष्ठीलगायतका विभिन्न कार्यक्रम गर्नको लागि हलको समेत व्यवस्था गरिएको छ । नयाँ आउटलेट स्थानीय ग्राहकसँगै भारतीय ग्राहकलाई पनि लक्षित गरेर सञ्चालनमा ल्याएको सेफ शाहले बताउनुभयो ।
नयाँ आउटलेटमा मिथिला क्षेत्रका परिकारलाई केन्द्रमा राख्दै ‘मिथिला थाली’ मुख्य आकर्षणमा राखिएको छ । यसअन्तर्गत तरुवा, तिलौरी, विरिया, कडिवडि, चोखा, भात, घिउ रोटी, सलादलगायतका परिकार समावेश गरिएको छ । त्यसैगरी ‘जनकपुर फिस हाउस’मा माछाका करिब दश प्रकारका परिकार उपलब्ध छन् ।

मिथिला थाली बारे जानकारी गराउँनु हुँदै मास्टरशेफ सन्तोष साह

मिथिला आर्टमा आधारित रहेर सजावट गरिएको मिथिला थालीमा भित्र प्रवेश गर्ने गेटदेखि भित्ताहरुमा समेत मिथिला चित्रकलाले सजाइएको छ । मिथिला क्षेत्रका कलाकारहरूले तयार पारेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन् ।
विराटनगरमा पछिल्लो समय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा तीव्र वृद्धि भइरहेको छ । पाँचतारे होटलदेखि अन्तर्राष्ट्रिय चेनसम्म विस्तार भइरहेका छन् भने केही नयाँ परियोजनाहरू निर्माणाधीन अवस्थामा छन् । यसै परिप्रेक्षमा शहरलाई रेस्टुरेन्ट हबका रूपमा विकास गर्ने सम्भावना देखिएको सेफ साहको भनाइ छ ।
सेफ साहले पछिल्लो समय अमेरिका, युरोप, न्युजिल्याण्ड, अष्ट्रेलिया र जापानसम्म नेपाली रैथाने परिकारको पप–अप शो गर्दै आउनुभएको छ । ती कार्यक्रममा उहाँले विभिन्न समुदायका करिब डेढ दर्जन मौलिक परिकार प्रस्तुत गर्ने गर्नुभएको छ, जसको अन्तर्राष्ट्रिय माग बढ्दो छ । स्वदेशमा भने उहाँले ‘मिथिला थाली’ ब्राण्ड विस्तारमा जोड दिनुभएको छ । जनकपुरमा सुरु गरिएको ‘मिथिला थाली’ काठमाडौंको झम्सीखेल, नक्सालको गैरीधारा र गौशालामा पनि आउटलेट विस्तार भइसकेका छन् ।