ट्रम्पको फोन मोदीले उठाएनन्

हाम्रो पेज

११ भाद्र २०८२, बुधबार १९:२३

एजेन्सी, ११ भाद्र ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार पटकसम्म फोन गर्दा नउठाएको जर्मन पत्रिका फ्रान्कफर्टर अल्गेमाइन एफएजी ले दाबी गरेको छ। यो दाबी भारत–अमेरिका व्यापार विवाद चर्किरहेको समयमा आएको हो। अमेरिकाले भारतले रुसबाट तेल खरिद बढाएको भन्दै भारतमाथि थप २५ प्रतिशत आयात शुल्क घोषणा गरेको छ। यससँगै भारतमाथिको कुल शुल्क दर ५० प्रतिशतसम्म पुगेको छ। एफएजीले लेखेको छ, ‘भनिन्छ, नरेन्द्र मोदीलाई ‘ट्रम्प’ भन्ने शब्द सुन्ने बित्तिकै आघात हुने गर्दछ।’ जापानको निक्केई एसिया ले पनि हालै भारतीय कूटनीतिक विज्ञहरूलाई उद्धृत गर्दै ट्रम्पले बारम्बार फोन सम्पर्क गर्न खोजे पनि मोदीले लगातार इन्कार गरेको लेखेको छ । यसले ट्रम्पको निराशा बढाएको बताइएको छ। यसबिच, भारतीय विदेश मन्त्री एस. जयशंकरले भने शनिबार दिएको वक्तव्यमा वासिङ्टनसँग व्यापार वार्ता जारी रहेको तर केही सुरक्षात्मक रेखा कायम गर्नुपर्ने बताए। रुसी आक्रमण अघि भारतको तेल आयातमा रुसको हिस्सा ० दशमलव २ प्रतिशत मात्र थियो। तर अहिले यो ४५ प्रतिशत पुगेको छ, जसले गत वर्ष मात्र रुसलाई करिब ४१ अर्ब पाउण्ड राजस्व दिएको भारतस्थित ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभको तथ्याङ्कमा उल्लेख छ। ट्रम्पले यसअघि भारत र रुसलाई ‘मृत अर्थतन्त्र’ बताउँदै भारतलाई ‘युक्रेन युद्धलाई तेल आपूर्ति गरेर युद्ध मसिन चलाउने’ गरेको आरोप लगाएका थिए।भारत–अमेरिका व्यापार वार्ता स्थगित भएको र अमेरिकी वार्ताकारहरूको नयाँ दिल्ली भ्रमण रद्द भएकोले दुवै देशबिचको सम्बन्ध चिसिएको देखिन्छ।अर्काेतर्फ  अगस्ट २७ देखि भारतले अमेरिकाको ५० प्रतिशत भारी ट्यारिफ (कर) सामना गर्नुपर्ने भएको छ। यसअघि नै २५ प्रतिशत ट्यारिफ लागू भइसकेको थियो, अब अतिरिक्त दण्डस्वरूप २५ प्रतिशतको ट्यारिफ पनि थपिनेछ। यसबाट भारतीय बजारमा, विशेषगरी कम नाफा र बढी श्रम लाग्ने उत्पादनहरूमा, गम्भीर नकारात्मक असर पर्ने आशंका गरिएको छ।
यी उत्पादनहरूमा कपडा, टेक्सटाइल, हीरा–जवाहरात, झिंगे माछा, गलैँचा र फर्निचर समावेश छन्। नयाँ ट्यारिफ लागू भएपछि अमेरिकी बजारमा यिनको निर्यात धेरै कठिन हुनेछ। यसका कारण भारतमा कम सीप भएका लाखौं मानिसहरूको रोजगारी खतरामा पर्न सक्ने देखिएको छ।