प्रधानमन्त्री बालेन र अधिकांश मन्त्रीहरू करोडपति, कसको कति छ सम्पत्ति ?

हाम्रो पेज

३० चैत्र २०८२, सोमबार १२:०६

काठमाडौं, ३० चैत । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार उहाँहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सम्पत्ति विवरण हेर्दा प्रधानमन्त्री बालेन्द्र शाहलगायत अधिकांश मन्त्रीहरू करोडपति देखिएका छन् । अधिकांश मन्त्रीहरूको सम्पत्ति अथाह देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपियाँ रहेको खुलाउनुभएको छ । उहाँले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई उल्लेख गर्नुभएको छ । पत्नी सविनाको नाममा १९० तोला सुन रहेको र प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको विवरण सार्वजनिक गर्नुभएको छ । वाग्लेको ललितपुरको सानेपामा अपार्टमेन्ट २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरिएको छ । मन्त्री वाग्लेले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटी उल्लेख गर्नुभएको छ । उहाँको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपियाँ रहेको विवरणमा उल्लेख छ । गृहमन्त्री सुधन गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । गृहमन्त्री गुरुङका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको बाँडफाँट नभएको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ । गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी पनि रहेको उल्लेख छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकासमन्त्री सुनील लम्सालसँग ९० लाख रुपियाँ बैंक ब्यालेन्स रहेको पाइएको छ । उहाँको सम्पत्ति विवरणमा ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ । उहाँको परिवारका सदस्यका नाममा रूपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको उल्लेख छ । साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९ सय ९४ रुपियाँ मौज्दात रहेको उल्लेख गर्नुभएको छ भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ । शिक्षामन्त्री सस्मित पोखरेलसँग पनि अथाह सम्पत्ति रहेको पाइएको छ । जसअनुसार, उहाँको बुबा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ । काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख छ । बुबा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका सेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख छ । आमा मीनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपियाँ बराबरको सेयर रहेको उल्लेख छ । उहाँले आफू र आमा मीनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाउनुभएको छ । उहाँले हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ«े बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख गर्नुभएको छ । बुबा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेका छन् । सम्पत्ति विवरणमा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गर्नुभएको छ । उहाँको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ ।

कोसँग कति सुन

प्रधानमन्त्री बालेन शाह– १९० तोला
उद्योगमन्त्री गौरी कुमारी– १८० तोला
गृहमन्त्री सुधन गुरुङ– ८९ तोला
श्रममन्त्री रामजी यादव– ८० तोला
अर्थमन्त्री स्वर्णिम वाग्ले– ४५ तोला
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल– ३०
स्वास्थ्यमन्त्री निशा मेहेता– ३० तोला
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल– २५ तोला
शिक्षामन्त्री सस्मित पोखरेल– २५ तोला
परराष्ट्रमन्त्री शिशिर खनाल– २२ तोला
महिला बालबालिकामन्त्री सीता वादी– १८ तोला
उर्जामन्त्री विराजभक्त श्रेष्ठ– १५ तोला
कानुनमन्त्री सोविता गौतम– १५ तोला
पर्यटनमन्त्री खडकराज पौडेल– ११ तोला
सञ्चारमन्त्री विक्रम तिमिल्सिना– करिब ७ तोला
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी– ५ तोला