हाम्रो पेज

विराटनगर, ३ ज्येष्ठ । विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक मृतकको कानबाट सुन गायब भएको छ । विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कानबाट सुन गायब भएको हो । विष सेवनबाट बिरामी परेकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारलाई आफन्तले जेठ १ गते ग्रिनक्रस हस्पिटलमा भर्ना गरेका थिए । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो । उपचारका क्रममा उनको दुवै कानमा सुनका मुन्द्रा थिए । मृत्युलगत्तै एकाएक दुवै कानमा रहेको एक तोला सुनको मुन्द्रा गायब भयो । आफन्तले कानको मुन्द्रा हराएको विषयमा प्रश्न गरे । सुरुमा अस्पताल प्रशासनले सुनको मुन्द्रा हराएको स्वीकार गर्न मानेन । आफन्तले उपचारका क्रममा राखिएको अवस्थाको भिडियो देखाएपछि अस्पतालमा खैलाबैला मच्चियो । अस्पताल प्रशासनले सीसी क्यामेरा फुटेज जाँच गरेपछि सुन हराएको पुष्टि भएको मृतक परिवारका एक सदस्यले बताए । बिरामीको मृत्यु घोषणाअघि पर्दा लगाएर ईसीजी गर्ने क्रममा सुन चोरी भएको परिवारका सदस्यको आशंका छ । पीडित परिवारले खबर गरेपछि प्रहरीले सोधपुछ गरेको थियो । प्रहरी पुगेपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति मृतक परिवारलाई दिन तयार भयो । अस्पताल प्रशासनले आन्तरिक रूपमा छानबिन गर्ने भन्दै मृतक महिलाका परिवारका सदस्यलाई एक तोला सुन बराबरको चेक काटेर दिएका छन् । मोरङ प्रहरी उपरीक्षक कवित कटवालले लासबाट सुन चोरी भएको विषयमा सूचना आएपछि अनुसन्धान सुरु गरेको जानकारी दिनु भएको छ ।