उद्योग संगठनको महिला उद्यम समितिद्वारा दुईदिने तालिमको आयोजना

हाम्रो पेज

२० बैशाख २०८३, आईतवार १५:३९
विराटनगर, २० वैशाख । उद्योग संगठन मोरङको महिला उद्यम समितिले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले खानाका विभिन्न परिकार बनाउने तालिम सम्पन्न गरेको छ ।
विराटनगरको एस्पायर कलेजमा आयोजना गरिएको दुईदिने निःशुल्क तालिममा विभिन्न क्षेत्रका १६ जना महिलाले सहभागीता जनाएका थिए । तालिममा सहभागीहरुलाई एस्पायर कलेजका सेफ अखिलेशप्रताप सिंहले सहजीकरण गर्नुभएको थियो । पछिल्लो समय जंकफुडको प्रचलन बढिरहेको बेला स्वादसँगै पोषणयुक्त खाना बनाउन सिकाउने तथा महिलाहरुलाई खानाका परिकार मार्फत आय आर्जनको माध्यम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उद्योग संगठन मोरङको महिला उद्यम समितिकी संयोजक जयन्ती अर्याल आचार्यले जानकारी दिनुभयो । स्वाद र पोषणयुक्त खानाप्रति सर्वसाधारण पनि सजग हुन थालेकाले पनि यसखाले कार्यक्रम आयोजना गरिएको आचार्यले बताउनुभयो ।

तालिम समापनका अवसरमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले तालिमबाट प्राप्त सीप र ज्ञानलाई व्यवहारमा उतार्दै व्यापार व्यवशायमा लाग्न चाहनेलाई उद्योग संगठन मोरङले स्टार्टअपकालागि सहयोग गर्ने विश्वास दिलाउनुभयो । सो अवसरमा बोल्दै सहभागीहरुले तालिम निकै फलदायी भएको प्रतिक्रिया दिए । उनीहरुले तालिमपछि आफ्नै घरपरिवारका साथै व्यापार व्यवशायमा पनि स्वस्थ खाना बनाउँदा सहज हुने प्रतिक्रिया दिए ।