मोरङ ६ मा दबाबमा शेखर, विनोद र रास्वपाको चुनौतीसँगै परिवर्तनको लहर , के छन् प्रतिवद्धता ?

हाम्रो पेज

८ फाल्गुन २०८२, शुक्रबार १९:४३

विराटनगर, ८ फाल्गुन । आसन्न प्रतिनिधिसभाका लागि मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘हेभीवेट’ उमेदवारका कारण यसपटक पनि चर्चामा छ । एमाले नेता विनोद ढकालले मोरङका तीन वटा निर्वाचन क्षेत्रबाट सिफारिस भए पनि अध्यक्ष केपी शर्मा ओलीको विपक्षी धारको समूहमा रहेका कारण टिकट पाउनेमा धेरैलाई शंका थियो । तर, अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीले ‘सरप्राइज’ टिकट दिएपछि उहाँ मोरङ ६ बाट चुनावी मैदानमा उत्रिनु भएको छ । उहाँको प्रतिस्पर्धा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित २० जनासँग हुनेछ । शेखरको पनि यहाँ सरप्राइज नै आगमन भएको छ । उनी विशेष महाधिवेशनको विपक्षमा रहेकाले उम्मेदवार हुने, नहुने टुंगो थिएन । अन्तिम समयमा सभापति गगन थापाले शेखरलाई टिकट दिनु भएको थियो । २०६५ सालको संविधानसभा उपनिर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेका कोइराला र ढकालबीच यो दोस्रो भिडन्त हो । त्यतिबेला डा. कोइराला विजयी हुँदा ढकाल तेस्रो स्थानमा खुम्चिनु भएको थियो । यो पटक नेपाली कम्युनिस्ट पार्टीले ओपेन्द्र रायलाई उम्मेदवार बनाएको छ । रास्वपाले रुविना आचार्यलाई उम्मेदवार बनाएको छ । उज्यालो नेपाल पार्टीबाट बसन्त बुढाथोकी, जेनजी समूहको तर्फबाट राम खत्री, किरण खड्कालगायत २० जना उम्मेदवार प्रतिस्पर्धामा रहनु भएको छ । डा. कोइरालाका लागि मोरङ ६ को प्रतिस्पर्धा छैटौं पटक हो । उहाँ तीन पटक विजयी हुनु भएको छ । २०६४ यता भएका पाँचवटा निर्वाचनमा लगातार उम्मेदवार बन्नु भएका कोइरालाले तीनपटक जित हासिल गरी यस क्षेत्रमा आफ्नो बलियो पकड बनाइसक्नु भएको छ । यद्यपि यसपटक उहाँलाई परिवर्तनको नयाँ लहरले चनौती थपिदिएको छ । उहाँ २०७९ को निर्वाचनमा एमाले नेता लालबाबु पण्डितलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो । यसपटक एमालेले पूर्वमन्त्री पण्डितलाई निर्वाचन कमान्डर तोकेर विनोद ढकाललाई मैदानमा उतारेको छ । तुलनात्मक रूपमा संगठन कमजोर भए पनि मोरङ ६ मा रास्वपाको चुनावी माहोल पनि बलियो छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य नयाँ अनुहारका रूपमा युवा मतदाताहरूलाई आकर्षित गर्ने एजेन्डासहित घरदैलोमा व्यस्त हुनुहुन्छ ।

उहाँ यो क्षेत्रका लागि परिचित अनुहार नभएपनि नयाँ वैकल्पिक शक्तिको लहरले अन्य उम्मेदवारविरुद्ध चनाव चिन्ह नै धारी पर्ने स्थानीय मतदाता र रास्वपाजनहरु नै बताउँछन् । बालेन शाह समूहबाट टिकट पाउनु भएकी आचार्य युवा पुस्ताको भोट तान्ने रणनीतिमा हुनुुहुन्छ । रास्वपाप्रतिको लहर देशैभरि रहेकाले त्यसको प्रभाव यो क्षेत्रमा पनि पर्ने नेताहरू बताउँछन् ।  यसैबीच चुनावी प्रचारकै अन्तिम निर्णायक समयमा ढकाल भने पितृ शोकमा रहनु भएको छ । उहाँले पिताको काजक्रियामा रहदै कोराबाटै आफ्ना चुनावी प्रतिवद्धताहरु सार्वजनिक गर्नुभएको छ ।


ढकालका प्रतिबद्धताहरूमा
गिरताराको हल निकास र डुबान समस्या समाधान गर्न दीर्घकालीन बाँध निर्माण गर्न पहल गर्ने।
वन्यजन्तुहरूको प्रमुख सडक स्तरोन्नति गरी कालोपत्रे बनाउने।
गिद्धा, बुढीतोला, केशरिया र सिंगिया नदी नियन्त्रण गर्न विशेष योजना ल्याउने।
बन्द भएका घरेलु तथा साना उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने र रोजगारी सिर्जना गर्ने।
गुणस्तरीय शिक्षा र ‘स्मार्ट कक्षा’ सम्बन्धी नीति लागू गर्ने पहल गर्ने।
जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम ल्याउने।
विश्वविद्यालय र क्याम्पसहरूलाई व्यवस्थित गरी रोजगारीमूलक शिक्षा लागू गर्ने र छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने।
मदरसा, गुरुकुललगायत धार्मिक विद्यालयलाई व्यवस्थापन र सुविधासहित शैक्षिक कार्यक्रमसँग जोड्ने।
मदरसा, मठमन्दिर, चर्च, गुम्बा, धाम आदि सांस्कृतिक धरोहरको संरक्षण गर्ने।
थारू समुदायको भाषा, संस्कृति, चाडपर्व र पहिचानको संरक्षण गर्दै समयानुकूल विकास गर्ने।
मल, खाद तथा बीउ समयमा उपलब्ध गराउने व्यवस्था गर्ने र कृषि सिंचाइको प्रवन्ध आधुनिकीकरण गर्ने।
कृषि उपज भण्डारण केन्द्र र शीत भण्डार सञ्चालन गर्न प्रोत्साहन गर्ने।
पर्यटनको सम्भावना भएको छेपारी, बुढीतोला, सिंगिया खोला र दोहोरी पार्कलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने।
कोशी नहरको विस्तार गरी शाखा–प्रशाखा जोड्ने, गिद्धा र बुढीतोलामा पुल निर्माण गर्ने।
उद्योग व्यवसाय र मितव्ययिता प्रवर्द्धन गर्ने।
थप प्रतिबद्धताहरू
निर्वाचन क्षेत्र स्तरीय रंगशाला, आवश्यकता अनुसार खेलमैदान र कभर्ड हल निर्माण गरी खेलाडी उत्पादन कार्यक्रम सञ्चालन गर्ने।
नवयुवालाई प्रोत्साहन गर्ने, युवा उद्यमशीलता विकास गरी रोजगारका अवसर सिर्जना गर्ने।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित र एकल महिलाको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न पहल गर्ने।
अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधान गर्ने।
विपन्न परिवारका लागि निःशुल्क विद्युत् तथा उपचार कार्यक्रम सञ्चालन गर्ने।
चाडपर्वमा अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्न पहल गर्ने।
सहकारी तथा लघुवित्त संस्थाको चर्को ब्याजदर नियन्त्रणका लागि पहल गर्ने।
सिटी रिक्सा चलाउनेलाई संगठित गरी सुविधासम्पन्न सेवा उपलब्ध गराउने।
उत्तरी भेगको गिद्धा क्षेत्र केन्द्रित प्रशासनिक कार्यालय स्थापना गर्ने।
विगतमा कमलामाई पुलदेखि गड्गडेतालसम्म अधुरा रहेका परियोजनाहरू प्राथमिकताका साथ पूरा गर्ने।
पूर्वपश्चिम राजमार्गदेखि गिद्धा–मधुबनी हुँदै गंगाजलीसम्म सडक स्तरोन्नति गर्ने।
कोठिया चोकदेखि पौरिया पुलसम्म कालोपत्रे सडक निर्माण गर्ने।
गिद्धा आधारभूत विद्यालयदेखि पूर्व–पश्चिम राजमार्ग ९वार्ड नं। ६ र ७ जोड्ने० सम्म पक्की पुल निर्माण गर्ने।
नवोदया बजार हुँदै मायादेवी पुल जाने सडक कालोपत्रे गर्ने।
मिलनचोक–कमलापुर–गंगाजली हुँदै मुगौला जाने मुख्य सडक चौडा गरी कालोपत्रे गर्ने।
सरकारी तथा निजी अस्पतालमा विपन्न नागरिकको सहज पहुँच सुनिश्चित गर्ने।

यस्तै विनोदका प्रतिस्पर्धी मध्येका एक नेपाली कांग्रेसका कोइरालाले पुर्वाधार निर्माण र डुबानका समस्या समाधानका लागि राष्ट्रिय स्तरबाटै ध्यान केन्द्रित गराउने प्रतिवद्धता जनाउनु भएकोछ । उहाँले क्षेत्र नम्बर ६ भित्रका डुबान समस्या समाधानका लागि केही पहल भएको र यसलाई राष्ट्रिय समस्याका रुपमा उठाएर समाधानको पहलमा आफू खटिने आश्वासन दिनु भएको छ । यद्यपि तीन पटक निर्वाचित हुँदा समेत समाधान नभएको. डुबान अब कसरी समाधान हुन्छ भन्ने प्रश्न मतदाताहरुले गर्ने गरेका छन् । मत माग्ने क्रममा विराटनगर–१२ मा पुग्नु भएका कोइरालाले घरदैलो कार्यक्रममा यस्तो प्रतिबद्धता दोहोर्याउनु भएको थियो । उहाँले टोलीसहित टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरिरहनु भएको छ । मोरङ क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाका ७ वटा वडा, बुढीगंगा गाउँपालिकाका ७ वटा वडा र सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडा गरी कुल २० वटा वडा पर्दछन् । १ लाख ३७ हजार ७३२ मतदाता रहेको यस क्षेत्रमा कांग्रेसको पुरानो विरासत जोगाउने दाउमा कोइराला रहदा एमाले र नयाँ शक्तिहरू आफ्नो प्रभाव विस्तार गर्ने दाउमा देखिन्छन् ।