search logo
NOTIFICATIONS

तीन दशकको प्रतिक्षा समाप्तः हुम्ला राष्ट्रिय सडक सञ्जालमा, कर्णाली करिडोरले भारत-चीन जोड्दै (फोटोफिचरसहित)

हाम्रो पेज

२३ असार २०८२, सोमबार १३:१७

काठमाडौं, २३ अषाढ । योजना बनेको ३१ वर्ष र निर्माण थालिएको २६ वर्षको लामो प्रतिक्षापछि, देशकै एकमात्र सडक सञ्जालमा जोडिन बाँकी जिल्ला सदरमुकाम हुम्लाको सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यो ऐतिहासिक उपलब्धिसँगै नेपालका ७७ वटै जिल्ला सदरमुकाममा मोटर बाटोको पहुँच पुगेको छ। यो ऐतिहासिक क्षणको साक्षी बन्न प्रधानमन्त्री केपी शर्मा ओली हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोला पुग्नुभएको थियो। स्थानीयहरूले बाजागाजा र सांस्कृतिक झाँकीसहित गरेको भव्य स्वागतका बीच प्रधानमन्त्री ओलीले नेपाली सेनाद्वारा द्रुत गतिमा निर्मित बेलिब्रिजको उद्घाटन गर्नुभयो। यही बेलिब्रिजले कर्णाली करिडोरमार्फत सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अन्तिम कडीको काम गरेको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई केवल हुम्ला जोड्ने मार्गका रूपमा मात्र नभई भारत र चीन जोड्ने एक रणनीतिक व्यापारिक मार्गको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यो कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देश जोड्ने व्यापारिक मार्ग हो, उहाँले भन्नुभयो, यसलाई तत्काल दुई लेनमा विस्तार गरी कालोपत्र गरिनेछ। उहाँले चुवाखोलामा निर्माणाधीन पक्की पुललाई शीघ्र सम्पन्न गर्ने, कठिन चट्टानी भूभागमा ढलान गरेर सडक स्तरोन्नति गर्ने र चीनसँगको हिल्सा नाकामा व्यापार सहजीकरणका लागि तत्काल क्वारेन्टाइन स्थापना गरिने घोषणा गर्नुभयो।

वि.सं. २०५४ मा खाद्यान्न अभावको स्थायी समाधान खोज्ने उद्देश्यले सुरु भएको सडकको सपनाले साकार रूप लिन तीन दशकभन्दा बढी समय लाग्यो। विभिन्न समयमा ठेकेदारमार्फत निर्माण सुरु भए पनि सुस्त गति र भौगोलिक जटिलताका कारण परियोजनाले अपेक्षित गति लिन सकेको थिएन।
अन्ततः, वि.सं. २०७१ चैतमा तत्कालीन सरकारले यो राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई सुम्पिएपछि कामले तीव्रता पायो। सेनाले हुम्लाको ६ किलोमिटर लामो छारे भीर जस्ता अत्यन्तै कठिन चट्टानी पहाड फोरेर ट्रयाक खोल्ने अदम्य कार्य सम्पन्न गर्‍यो। अन्तिम चरणमा, नेपाली सेनाले करिब ४ करोडको लागतमा केवल ३५ दिनमै चुवाखोलामाथि ५१।८० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि यो ऐतिहासिक सफलता प्राप्त भएको हो।
त्रिदेशीय सञ्जाल र आर्थिक समृद्धिको ढोका


यो सडकले हुम्लालाई राष्ट्रिय पहुँचमा मात्र जोडेको छैन, यसले समग्र कर्णाली प्रदेशलाई नै भारत र चीनसँग जोड्ने एक महत्त्वपूर्ण आर्थिक करिडोरको रूपमा स्थापित गरेको छ। अब भारतको सीमावर्ती सहर रुपैडियादेखि चीनको सीमाना हिल्सासम्म करिब ६८२ किलोमिटरको दूरी एउटै गाडीमा सहजै यात्रा गर्न सकिने भएको छ। यस मार्गले कैलाश मानसरोवर जाने हजारौँ भारतीय तीर्थयात्रीलाई सहज बनाउनेछ, जसबाट स्थानीय पर्यटन र आर्थिक गतिविधिले ठूलो फड्को मार्ने निश्चित छ। हाल कर्णाली करिडोरलाई उत्तर र दक्षिण गरी दुई आयोजनामार्फत स्तरोन्नति गरिँदैछ, जसका लागि क्रमशः २१ अर्ब र १४ अर्ब बजेट विनियोजन भई काम अगाडि बढिरहेको छ। यो सडक सञ्जाल हुम्लाका लागि विकासको मेरुदण्ड मात्र होइन, राष्ट्रिय एकता र समृद्धिको एक बलियो सेतुसमेत हो, जसले दुर्गम कर्णालीको मुहार फेर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।