विश्वकप २०२६ः अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

हाम्रो पेज

१५ असार २०८३, सोमबार ११:३१
क्यानडा पहिलो पटक अन्तिम १६मा पुग्दा दक्षिण अफ्रिका विश्वकपबाट बाहिरियो


विराटनगर, १५ असार । क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेर नयाँ इतिहास रचेको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै क्यानडाले यो ऐतिहासिक सफलता हात पारेको हो ।

क्यानडाको जितमा स्टेफन युस्टाकियो नायक बने । उनले खेलको पूर्वार्द्धमा गरेको एकमात्र गोल नै टोलीलाई इतिहासकै महत्त्वपूर्ण जित दिलाउन पर्याप्त भयो । खेलभरि दक्षिण अफ्रिकाले क्यानडाको पोस्टमा केही राम्रा आक्रमण गरेता पनि फरवार्ड लाइनमा आवश्यक जुझारुपन र फिनिसिङको कमी हुँदा बराबरी गोल फर्काउन सकेन । दक्षिण अफ्रिकाले खेलमा संघर्ष गरे पनि क्यानडाको बलियो रक्षापंक्ति र उत्कृष्ट रणनीतिका सामु उसको केही लागेन ।

यो जितसँगै क्यानडाभरि अभूतपूर्व खुसीयाली छाएको छ र देशका कुनाकाप्चामा फुटबल समर्थकले टोलीको यो ऐतिहासिक उपलब्धिलाई भव्य रूपमा मनाइरहेका छन् । भोलिका ‘ब्लकबस्टर’ खेल विश्वकप अन्तर्गत भोलि थप रोमाञ्चक खेल हुनेछन् । पहिलो खेलमा महाशक्तिका रूपमा हेरिएको ब्राजिलले जापानको सामना गर्नेछ भने अर्को खेलमा नेदरल्यान्ड्स र मोरक्को आमनेसामने हुनेछन्।