search logo
NOTIFICATIONS

पश्चिम नेपालमा अति भारी वर्षाको चेतावनी, २९ जिल्ला बाढीपहिरोको उच्च जोखिममा

हाम्रो पेज

१५ असार २०८२, आईतवार १२:०४
काठमाडौं, १५ अषाढ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालमा मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम उच्च भएको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज र भोलि पश्चिम नेपालका १२ जिल्लालाई बाढीपहिरोको दृष्टिकोणले उच्च जोखिममा राखेको छ भने जल तथा मौसम विज्ञान विभागले देशका २९ जिल्लामा पहेंलो सतर्कता जारी गरेको छ।
यी १२ जिल्ला सबैभन्दा बढी जोखिममा
प्राधिकरणका प्रवक्ता सुरेन सुनारका अनुसार, जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनले पश्चिम नेपालका केही क्षेत्रमा अति भारी वर्षा हुनसक्ने देखाएको छ। यसका आधारमा निम्न १२ जिल्लाहरूलाई उच्च जोखिममा राखिएको हो I
सुदूरपश्चिम प्रदेशः बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर।
कर्णाली प्रदेशस् सुर्खेत, दैलेख र सल्यान।
लुम्बिनी प्रदेशः बाँके, बर्दिया र दाङ।
यी जिल्लाहरूमा बाढी, पहिरो र डुबानको खतरा बढेकाले स्थानीय बासिन्दा र सम्बन्धित निकायलाई उच्च सतर्क रहन भनिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभावले मौसम बदली रहेको छ र भोलि बिहानसम्म नै यसको प्रभाव देखिनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ। पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ र कैलालीका केही स्थानमा भारी वर्षा रेकर्ड भइसकेको छ।
बाढी पूर्वानुमान महाशाखाले नदी तथा खोलामा बढ्दो जलसतहलाई ध्यानमा राख्दै २९ जिल्लालाई पहेंलो सतर्कता सूचीमा राखेको छ ।
प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह बढ्दो क्रममा रहनेछ।
विशेषगरी कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम छ। यस्तै पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेल्धुरा, र बझाङ जिल्लाका साना नदी तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित विपद्बाट बच्न र क्षति न्यूनीकरण गर्न महाशाखाले निम्न क्षेत्रमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । यस्तै सबै नागरिकलाई मौसमसम्बन्धी सूचना नियमित रूपमा लिन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र कुनै पनि आपत्कालीन अवस्थाका लागि तयार रहन अनुरोध गरिएको छ।