हाम्रो पेज

काठमाडौं, २७ अषाढ । सुस्ताएको अर्थतन्त्रलाई गति दिने र लगानीकर्ताको मनोबल उकास्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक उदार र लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको नीतिले विशेषगरी घरजग्गा र सेयर बजारलाई राहत दिनेगरी कर्जाको सीमा र लगानी अनुपातमा भारी वृद्धि गरेको छ। साथै, ब्याजदर घटाउनेतर्फ स्पष्ट संकेत गर्दै नीतिले सर्वसाधारण र व्यवसायी दुवैलाई उत्साहित बनाएको छ। लामो समयदेखि मन्दीमा रहेको घरजग्गा कारोबारलाई चलायमान बनाउन राष्ट्र बैंकले महत्वपूर्ण कदम चालेको छ। व्यक्तिले घर निर्माण वा खरिदका लागि लिन पाउने कर्जाको अधिकतम सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। यस्तै बैंकहरूले घरजग्गाको मूल्यांकनको आधारमा दिने ऋणको अनुपात पनि बढाइएको छ। अब पहिलो घर खरिद गर्नेले सम्पत्तिको मूल्यांकनको ८० प्रतिशत सम्म र अन्यको हकमा ७० प्रतिशत सम्म कर्जा पाउन सक्नेछन्। यसअघि यो सीमा क्रमशः ७० र ६० प्रतिशत थियो। यो व्यवस्थाले घर किन्न चाहने आम नागरिकलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ। सेयर बजारका लगानीकर्तालाई राहत दिँदै राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सीमामा भारी वृद्धि गरेको छ। अब एउटै व्यक्ति वा संस्थाले सेयर धितोमा लिन पाउने ऋणको सीमा १५ करोडबाट १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ। यो निर्णयले बजारमा थप तरलता प्रवाह हुने र ठूला लगानीकर्ताहरू सक्रिय हुने अपेक्षा गरिएको छ। मौद्रिक नीतिले ब्याजदर करिडोरलाई साँघुरो बनाएर आगामी दिनमा बैंकको ब्याजदर घट्ने स्पष्ट संकेत दिएको छ। करिडोरको माथिल्लो सीमा ६ दशमलव ५ बाट घटाएर ६ प्रतिशत र तल्लो सीमा ३ प्रतिशतबाट घटाएर २ दशमलव७५ प्रतिशत कायम गरिएको छ।

केन्द्रीय बैंकले बैंकहरूलाई उपलब्ध गराउने सापटीको ब्याजदर नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४ दशमलव५ प्रतिशतमा झारिएको छ। यसले बैंकहरूको कोषको लागत घटाउने हुँदा उनीहरूले लिने र दिने दुवै ब्याजदरमा कमी आउन सक्नेछ, जसले ऋणीलाई प्रत्यक्ष फाइदा पुग्नेछ । मौद्रिक नीतिले कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायलाई विशेष प्राथमिकतामा राखेको छ। बैंक तथा वित्तीय संस्थाहरूले अब कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैंले मूल्यांकन गरी १० लाख रुपैयाँसम्मको कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्नेछन्। यसले ग्रामीण क्षेत्रका साना किसान र उद्यमीहरूलाई वित्तीय पहुँचमा सहजता प्रदान गर्नेछ। यस्तो कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरे पुग्ने सहुलियत पनि दिइएको छ। यस्तै विदेश भ्रमणमा जाने नेपालीले अब ३ हजार अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन्। यसअघि यो सीमा २,५०० डलर थियो। कर्जा निक्षेप अनुपात तरलता व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय असल अभ्यास अनुसारका अन्य सूचकहरू को प्रभावकारी कार्यान्वयनपछि कर्जा निक्षेप अनुपात सम्बन्धी हालको व्यवस्थालाई परिमार्जन गरिने भएको छ। व्यवसायीहरूले गुनासो गर्दै आएको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यकता अनुसार परिमार्जन गरिने भएको छ।