भिजिट भिसामा जानेलाई अब अध्यागमनले नरोक्ने

हाम्रो पेज

१ भाद्र २०८२, आईतवार १७:१३

१ भाद्र, काठमाडौं । अध्यागमन विभागले नेपाली नागरिकहरूको वैदेशिक यात्रालाई थप सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउने उद्देश्यले एक बृहत् सुधार अभियानको घोषणा गरेको छ। आइतबार आयोजित एक पत्रकार सम्मेलनमार्फत विभागले अध्यागमन प्रक्रियामा हुने कुनै पनि प्रकारको अनियमितता तथा भ्रष्टाचारप्रति ुशून्य सहनशीलताको नीति अपनाइएको स्पष्ट पार्दै यस अभियानलाई सफल बनाउन सात प्रमुख पक्षसँग सक्रिय सहकार्यका लागि हार्दिक अपिल गरेको छ। कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रणालीमा गरिने सुधार कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताउँदै यसका लागि यात्रा गर्ने यात्रु, वायुसेवा कम्पनीहरू, स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय, सञ्चार जगत, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरू, ट्राभल्स एजेन्सी तथा मुद्रा सटही कारोबार गर्ने संस्थाहरूको सामूहिक जिम्मेवारी र सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो। महानिर्देशक तिवारीले एक महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो,अब उप्रान्त कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा निजको हैसियतको आधारमा विदेश यात्रा गर्नबाट वञ्चित गरिने छैन। प्रत्येक नागरिकको सम्मानपूर्वक यात्रा गर्ने अधिकारको हामी पूर्ण कदर गर्दछौं। यद्यपि, उहाँले फर्जी वा नक्कली कागजातको प्रयोग गरी प्रस्थान गर्न खोज्ने व्यक्तिहरूलाई प्रस्थान अनुमति नदिइने मात्र नभई, त्यस्ता कार्यमा संलग्नलाई तत्काल नेपाल प्रहरीमार्फत कानुनी कारबाहीको दायरामा ल्याइने कडा चेतावनी समेत दिनुभयो। विभागले व्यवस्थित अध्यागमनका लागि सम्बन्धित सबै पक्षलाई आफ्नो भूमिका निर्वाह गर्न यसरी आग्रह गरेको छ । यात्रामा निस्कनुअघि आफ्नो साथमा वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने आधिकारिक प्रमाण, तोकिएको विदेशी मुद्रा डलर सटहीको रसिद र अन्य आवश्यक कागजातहरू अनिवार्य रूपमा राख्न अनुरोध गरिएको छ। साथै, कुनै पनि दलाल वा विचौलियाको प्रलोभनमा परी अवैधानिक बाटोबाट विदेश नजान र अध्यागमन प्रक्रियामा कसैले रकम माग गरेमा तत्काल विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निर्धक्क भएर जानकारी गराउन आग्रह गरिएको छ। यात्रुहरूलाई प्रस्थान समयभन्दा कम्तीमा एक घण्टा अगाडि नै अध्यागमनको स्टेरेलाइज्ड एरियामा पठाउने व्यवस्था मिलाउन, अत्यधिक ओभर बुकिङको समस्यालाई न्यूनीकरण गर्न र कुनै कारणवश यात्रुलाई बोर्डिङ पास दिन नसक्ने अवस्था आएमा त्यसको स्पष्ट कारणसहित लिखित जानकारी उपलब्ध गराउन आग्रह गरिएको छ।
आफ्ना नागरिकहरूलाई दलाल विचौलियाबाट सचेत गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा मानव बेचबिखन र ठगी गर्ने समूहविरुद्ध निरन्तर निगरानी एवं कारबाही अभियान चलाउन अनुरोध गरिएको छ। यस्तै वैदेशिक यात्रासँग सम्बन्धित झुट्टा विवरण, फर्जी कागजातको प्रयोग र दलालहरूको गतिविधिबारे जिम्मेवारीपूर्वक सत्यतथ्य समाचार सम्प्रेषण गरी आम जनतालाई सचेत बनाउने कार्यमा सहयोग गर्न विभागले अपिल गरेको छ। महानिर्देशक तिवारीले सबै पक्षहरूको सकारात्मक सहयोग र समन्वयबाट मात्र नेपाली नागरिकको वैदेशिक यात्रालाई सहज र सम्मानजनक बनाउन सकिने विश्वास व्यक्त गर्दै यस राष्ट्रिय अभियानमा हातेमालो गर्न सबैलाई आह्वान गर्नुभएकोछ ।