search logo
NOTIFICATIONS

रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान,बन्द सत्रमा आज के के हुनेछ ?

हाम्रो पेज

९ असार २०८३, मंगलवार १४:०८
रास्वपाको बन्द सत्रमा आज के के हुनेछ ?


चितवन ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।आज दिउँसो २ः०० बजे बन्दसत्र सुरु हुने र ६ः४५ मा समापन हुनेछ । मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ । महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिँदैछ । असीवटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ । एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो । कुनै उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार हुन पाउने छैनन् ।

बन्द सत्रमा के के हुनेछ ?
महाधिवेशन प्रतिनिधिको नाम टुंगो नलाग्दा हिजो हुन नसकेको बन्दसत्र दिउँसो २ बजे सभापति रवि लामिछानेले सुरु गर्नुभएको छ।
दिउँसो २ बजदेखि साँझ पौने ७ बजेसम्म चल्ने महाधिवेशनमा ६ वटा प्रतिवेदन पेश हुने छन् । ती प्रतिवेदनमाथि छलफल हुनेछ र पारित गरेर बन्दसत्र समापन हुने छ । बन्दसत्र सुरुमा रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्नुहुनेछ । अनुशासन आयोगको प्रतिवेदन पेश गर्न, छलफल गर्न र पारित गर्न साढे दुई बजेसम्मको समय छुट्याइएको छ । त्यसपछि २ बजेर ३० मिनेटमा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नेहुनेछ । उहाँको प्रतिवेदनका लागि ३० मिनेटको समय छुट्याइएको छ ।

आर्थिक प्रतिवेदन पारित भइसकेपछि ३ बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । महामन्त्रीको प्रतिवेदन पेश र छलफलका लागि ४५ मिनेट तय गरिएको छ । महामन्त्रीको प्रतिवेदनपछि सहमहामन्त्री विपीन आचार्यले तीन बजेर ४५ मिनेटमा विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । विधानका लागि १ घण्टाको समय राखिएको छ । ४ बजेर ४५ मिनेटमा विधान पारित गरिने छ । दिउँसो ४ः४५ देखि ५ः१५ बजेसम्म उपसभापति डा. स्वर्णिम वाग्लेले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ–राजनीतिक प्रस्तावना’पेश गर्नुहुनेछ । वाग्लेको पेश गरेको प्रस्तावना पारित भएपछि सभापति रवि लामिछानेले ५ः१५ देखि ६ः३५ बजेसम्म राजनीतिक प्रस्ताव पेश गर्नुहुनेछ । यी सबै प्रतिवेदन र प्रस्तावहरु पारित भइसकेपछि सभापति लामिछानेले साँझ पौने ७ बजे पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गर्नुहुनेछ र सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई प्रदान गर्नुहुनेछ ।