हाम्रो पेज
जनकपुरधाम, २५ श्रावण । जनकपुरधाम उपमहानगरपालिका ९, ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एउटा कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार, महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कार बिहान करिब ८ः३० बजे रेलमार्गको क्रसिङ मा ठोक्किएको हो। कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिनुभएअनुसार दुर्घटनामा कारमा सवार तीन जनालाई सामान्य चोटपटक लागेको छ। उहाँहरूको अवस्था खतरामुक्त रहेको र सबैजना सकुशल हुनुहुन्छ। दुर्घटनाबाट कारमा भने उल्लेख्य क्षति पुगेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र गतिमा रहेको रेलले कारलाई ठक्कर दिएको थियो। दुर्घटना पश्चात् केही समयका लागि रेल सेवा अवरुद्ध भए पनि हाल पुनः सञ्चालनमा आएको छ। प्रहरीले घटनास्थलमा पुगेर घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाएको प्रवक्ता सिंहले जानकारी दिनुभयो।