हाम्रो पेज
विराटनगर, ७ जेठ । बेलायतको ‘मास्टरशेफः द प्रोफेशनल्स’ बाट अन्तर्राष्ट्रिय पहिचान बनाउनुभएका सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्राण्डलाई विराटनगरमा समेत विस्तार गर्नुभएको छ । विराटनगर विमानस्थलबाट करिब डेढ किलोमिटर दूरीमा पर्ने कोशी हाइवे क्षेत्रमा रहेको डीडीसी दुध फार्म अगाडि सञ्चालनमा ल्याईएको मिथिला थालीको यो पाँचौं आउटलेट हो ।
मिथिला आर्टमा आधारित रहेर सजावट गरिएको मिथिला थालीमा भित्र प्रवेश गर्ने गेटदेखि भित्ताहरुमा समेत मिथिला चित्रकलाले सजाइएको छ । मिथिला क्षेत्रका कलाकारहरूले तयार पारेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन् ।
विराटनगरमा पछिल्लो समय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा तीव्र वृद्धि भइरहेको छ । पाँचतारे होटलदेखि अन्तर्राष्ट्रिय चेनसम्म विस्तार भइरहेका छन् भने केही नयाँ परियोजनाहरू निर्माणाधीन अवस्थामा छन् । यसै परिप्रेक्षमा शहरलाई रेस्टुरेन्ट हबका रूपमा विकास गर्ने सम्भावना देखिएको सेफ साहको भनाइ छ ।
सेफ साहले पछिल्लो समय अमेरिका, युरोप, न्युजिल्याण्ड, अष्ट्रेलिया र जापानसम्म नेपाली रैथाने परिकारको पप–अप शो गर्दै आउनुभएको छ । ती कार्यक्रममा उहाँले विभिन्न समुदायका करिब डेढ दर्जन मौलिक परिकार प्रस्तुत गर्ने गर्नुभएको छ, जसको अन्तर्राष्ट्रिय माग बढ्दो छ । स्वदेशमा भने उहाँले ‘मिथिला थाली’ ब्राण्ड विस्तारमा जोड दिनुभएको छ । जनकपुरमा सुरु गरिएको ‘मिथिला थाली’ काठमाडौंको झम्सीखेल, नक्सालको गैरीधारा र गौशालामा पनि आउटलेट विस्तार भइसकेका छन् ।