६ वर्षमा ६ किमि हुलाकी सडक नबन्दा सडकदेखि सदनसम्म आन्दोलनः सांसदहरूद्वारा अनशनको चेतावनी

हाम्रो पेज

२८ श्रावण २०८२, बुधबार १४:२८

विराटनगर २७ श्रावण । राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्ग अन्तर्गत मोरङको ६ किलोमिटर सडक खण्ड निर्माण सुरु भएको ६ वर्ष बित्दा पनि सम्पन्न नभएपछि स्थानीयको आक्रोश सडकदेखि प्रदेश र संघीय संसद्सम्म पुगेको छ। निर्माण कम्पनीको चरम लापरबाही र सरकारी उदासीनताविरुद्ध कोशी प्रदेशसभा सदस्य भीम पराजुली र प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले आमरण अनशन बस्नेसम्मको चेतावनी दिनु भएको छ भने आजित भएका स्थानीयले सडकमा धान रोपेर सांकेतिक विरोध जनाएका छन्। यो विवाद समाधानका लागि कोशी प्रदेशसभा सदस्य पराजुलीले काठमाडौं पुगेर गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालसँग भेट गरी तत्काल निर्माण कार्य अघि बढाउन ध्यानाकर्षण गराउनुभएको छ। भेटपछि उहाँले हुलाकी सडकको जीर्ण कटहरी खण्ड, विद्युत् पोल सार्ने समस्या र झापाको कन्काई पुलको विषयमा मन्त्रीहरूसँग गहन छलफल भई कामलाई द्रुत गतिमा अघि बढाउने निष्कर्षमा पुगिएको जानकारी दिनुभयो।यसअघि, प्रदेशसभामा पराजुलीले सडक नबने संसद् भवन अगाडि नै आमरण अनशन बस्ने घोषणा गर्नुभएको थियो। कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो, सडक निर्माणका लागि आफ्नै सरकारका विरुद्ध आन्दोलन गरियो, अनशन पनि बस्यौं, पटक पटक सहमति हुन्छ तर बाटो बन्दैन। सरकारभन्दा ठेकेदार बलियो देखियो । उहाँले धुलो र हिलोले साइकल र मोटरसाइकलमा हिँड्ने आम नागरिकले भोग्नुपरेको कष्टबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

यस्तै, यो मुद्दाले संघीय संसद्मा समेत प्रवेश पाएको छ। मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्र का सांसद अमनलाल मोदीले मंगलबारको प्रतिनिधिसभा बैठकमा सरकारलाई तत्काल रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गर्नुभयो। हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष हुन लागिसक्यो, अझै बनेको छैन। त्यहाँका जनता अहिले सडकमा धान रोपाइँ गरिरहेका छन्, सांसद मोदीले भन्नुभयो, यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्‍यो, होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु। हुलाकी राजमार्गको मोरङ खण्डमा कुल ४४ किलोमिटर पर्दछ, जसमध्ये अधिकांश काम सकिएको छ। तर, हाटखोलादेखि रामचोकसम्मको ६ किलोमिटर खण्डको काम भने कछुवा गतिमा छ। २०७६ सालमा काठमाडौंको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा।लि। ले ठेक्का लिएको यो सडकको भौतिक प्रगति असारसम्म जम्मा २२ प्रतिशत मात्रै छ। लामो समयसम्म सडक नबनेपछि गत बिहीबार कटहरी गाउँपालिका–३ का स्थानीयले सडकमा सवारी आवागमन रोकेर धान रोपी सांकेतिक विरोध गरेका थिए।

उनीहरूको एउटै माग छ,कि सडक बनाइदे, कि हामीलाई धान रोप्न देऊ। जनप्रतिनिधिहरू नै अनशनको चेतावनी दिन बाध्य भएपछि अब सरकार र निर्माण कम्पनीमाथि निर्णायक कदम चाल्न चौतर्फी दबाब बढेको छ।