search logo
NOTIFICATIONS

कमाउँदै पढ्दै कार्यक्रम: विद्यालयमै उद्यम सिकाउँदै कोशी सरकार

हाम्रो पेज

pen
कैलाश चापागाईं
११ असार २०८३, बिहीबार १२:५४
विराटनगर, ११ असार । विद्यालय शिक्षा केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित हुन नहुने बहस वर्षौंदेखि हुँदै आएको छ । विद्यार्थीले कक्षामा सिकेका विषयलाई व्यवहारमा प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता शिक्षाविद्हरूले औंल्याउँदै आएका छन् । यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सुरु गरेको ‘कमाउँदै पढ्दै’ कार्यक्रम अहिले सामुदायिक विद्यालयमा नयाँ अभ्यासका रूपमा स्थापित हुँदै गएको छ ।

प्रदेशका आठ जिल्लाका आठवटा सामुदायिक विद्यालयमा सुरु गरिएको कार्यक्रमले विद्यार्थीलाई अध्ययनसँगै उद्यमशीलता, श्रम र उत्पादनसँग जोड्ने प्रयास गरेको छ । कार्यक्रम अन्तर्गत प्राविधिक धार अध्ययन गरिरहेका कक्षा आठदेखि ११ सम्मका विद्यार्थीहरुलाई बिउ पुँजी उपलब्ध गराइन्छ र उनीहरूलाई पशुपालन तथा अन्य उत्पादनमूलक गतिविधिमा संलग्न गराइन्छ । प्रारम्भिक चरणमै कार्यक्रमले विद्यार्थी, अभिभावक र स्थानीय तहको ध्यान तान्न सफल भएको छ ।

झापाको मेचीनगरस्थित धुलाबारी माध्यमिक विद्यालय यस कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमध्ये एक हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अहिले पढाइसँगै पशुपालनमा पनि सक्रिय छन् । विद्यालयले विद्यार्थीलाई सुँगुरका पाठा र बाख्रा उपलब्ध गराएको छ । ती पशुहरू विद्यार्थीले घरमै पालनपोषण गर्ने र त्यसबाट आम्दानी भएपछि प्रारम्भिक बिउ पुँजी विद्यालयलाई फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

धुलाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र विलाश लुइँटेलका अनुसार कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक सिकाइको अवसर दिएको छ । ‘अहिले त विद्यार्थीहरूले सुरु गरेका छन् । प्रतिफल आउन केही समय लाग्छ,’ उनले भने, ‘तर, विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गर्ने वातावरण बनेको छ । भेटेरीनरी अध्ययन गरिरहेका विद्यार्थीहरुलाई विद्यालयले नै प्रोत्साहन गरेपछि विद्यार्थीको परिवार नै जोडिएर थप संख्यामा पशुपालन सुरु भएको छ ।’

धुलाबारी विद्यालयमा सञ्चालन भइरहेको कार्यक्रमको अर्को विशेषता भनेको यसको व्यवस्थापनमा विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता हो । विद्यालयमा गठन गरिएको उद्यमी बाल क्लबमार्फत कार्यक्रम सञ्चालन हुँदै आएको छ । पशु वितरणदेखि हिसाबकिताब व्यवस्थापन र पशु पाल्ने नयाँ विद्यार्थी छनोटसम्मका काममा विद्यार्थीहरू स्वयं संलग्न छन् ।

धुलाबारी विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थी सन्देश उप्रेतीले विद्यालयबाट कार्यक्रमअन्तर्गत एक खसी लिएका छन् । खसीबाट मासु उत्पादन गरेर नाफा लिन छिटो हुँदा खसी पालन रोजेको उनले बताए । भेटेरीनरी पढिरहेका सन्देश खसी पाल्न सुरु गर्नुभन्दा अघि मोबाइलमै अलमलिएर दिन बिताउने गरेको स्मरण गर्दै अहिले केही आम्दामी हुने गरी खसी पालन सुरु गर्दा श्रममा जोडिएको बताउँछन् ।

उनले भने, ‘दिनभरि मोबाइलमा अलमलिएर बस्नुभन्दा अहिले दुई मुठा घाँस भए पनि काट्न थालेको छु ।’ पछि खसी बेचेर केही नाफा पनि पाउने र खसी–बाख्रामा के के रोग र प्रकोप हुन्छ भन्ने व्यवहारिक ज्ञानसमेत हुने हुँदा यसले पढाइमा समेत फाइदा पुग्ने उनले बताए । विद्यालयबाट नै विद्यार्थीले आम्दानी गर्ने उदेश्यले पशुपालन गर्न दिएकोमा बाबुआमा पनि खुसी भएको उनको भनाइ छ ।

उद्यमी बाल क्लबकी अध्यक्ष जस्मीना भट्टराईका अनुसार क्लबले बिउ पुँजीको व्यवस्थापन, अभिलेख राख्ने र अन्य विद्यार्थीलाई उद्यमशीलतामा प्रेरित गर्ने काम गरिरहेको छ । ‘कति विद्यार्थीले बिउ पुँजी फिर्ता गरे, कसको फिर्ता गर्ने समय भयो र कसलाई नयाँ रूपमा पशु वितरण गर्ने भन्ने निर्णय क्लबले नै गर्छ,’ उनले भनिन् ।

उनका अनुसार चालु वर्षमा मात्रै क्लबले ५५ वटा बोका, दुईवटा पाठी, १० वटा सुँगुरका पाठा र पाँचवटा सुँगुरका पाठी विद्यार्थीलाई वितरण गरेको छ । यसले विद्यालयभित्र उद्यमशीलताको अभ्यासलाई संस्थागत बनाउने प्रयास गरेको उनको भनाइ छ । पछि बेचबिखन गर्न पनि विद्यार्थी आफै जाने हुँदा बजार बुझ्न र व्यवसाय सम्बन्धी सिप सिक्न सजिलो हुने उनले बताइन् ।

विद्यालयका भेटेरीनरी प्रशिक्षक संयोजक सीताराम यादवका अनुसार विद्यार्थीलाई वितरण गरिएका पशुहरूको बीमा (इन्सुरेन्स)समेत विद्यालयले नै गरिदिने व्यवस्था मिलाइएको छ । ‘विद्यार्थीको लगानी सुरक्षित होस् र कुनै कारणले क्षति भएमा उनीहरू निरुत्साहित नहोऊन् भनेर विद्यालयले पशुको बीमा गरिदिएको छ,’ यादवले भने ।

यो वर्षबाट विद्यालयमै पनि विद्यार्थीहरुसँग सहकार्य गरेर कुखुरा पालन गर्ने तयारी भइरहेको उनले बताए । ३५० वटा कुखुरा पाल्ने गरी काम भइरहेको जानकारी यादवले दिए । उनका अनुसार पशुपालनसँगै विद्यार्थीलाई आधारभूत पशु स्वास्थ्य, पोषण व्यवस्थापन र व्यवसायिक पशु पालनसम्बन्धी जानकारी समेत प्रदान गरिँदै आएको छ ।

कार्यक्रमको प्रारम्भिक नतिजा सकारात्मक देखिए पनि यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको प्रधानाध्यापक लुइँटेल बताउँछन् । उनका अनुसार वर्तमान पुस्ता कृषि क्षेत्रसँगै डिजिटल प्रविधि र अनलाइन व्यापारतर्फ पनि आकर्षित भइरहेको छ ।

‘यो कार्यक्रमलाई केही परिमार्जन गरी कृषिसँगै अहिलेको डिजिटल व्यापारसँग समेत जोड्नुपर्छ,’ उनले भने, ‘कृषि मात्र नभई विद्यालयको परिवेश अनुसार के–कस्ता कार्यक्रममार्फत विद्यार्थीलाई उद्यमशीलतामा जोड्ने भन्ने विषयमा विद्यालयलाई नै स्वतन्त्र छोडियो भने अझ प्रभावकारी हुन सक्छ ।’ उनका अनुसार तराई, पहाड र सहरी क्षेत्रका विद्यालयको आवश्यकता र सम्भावना फरक–फरक हुने भएकाले स्थानीय परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था हुनुपर्छ ।

कोशी प्रदेश सरकार, समाजिक विकास मन्त्रालयको लगानीमा हाल यो कार्यक्रम झापासँगै सुनसरी, मोरङ, इलाम, तेह्रथुम, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभाका एक–एक सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित अमरसिंह माध्यमिक विद्यालय तथा मोरङको कानेपोखरी गाउँपालिकास्थित जनसेवा माध्यमिक विद्यालयमा समेत कार्यक्रम सञ्चालनमा रहेको हो ।

विभिन्न जिल्लामा विद्यालयको भौगोलिक अवस्था र स्थानीय स्रोतअनुसार विद्यार्थीलाई कृषि तथा पशुपालनसँग जोड्ने काम भइरहेको छ । विद्यार्थीलाई विद्यालय तहबाटै उत्पादनमूलक गतिविधिमा सहभागी गराउने र उद्यमशील सोचको विकास गर्ने कार्यक्रमको उदेश्य कोशी प्रदेश सरकारले लिएको छ । यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै बारम्बार चासो दिइरहेका छन् ।

कार्यक्रमप्रति स्थानीय तहको चासोसमेत बढ्दै गएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका यसको उदाहरण बनेको छ । प्रदेश सरकारले एउटा विद्यालयका लागि उपलब्ध गराएको सात लाख रुपैयाँमा गाउँपालिकाले लागत साझेदारी गर्दै पाँचवटा विद्यालयमा विस्तार गरेको छ । पहाडी क्षेत्रका विद्यालयमा विद्यार्थीहरुलाई घरमै टिकाएर अध्ययन गर्ने वातावरण बनाउन समेत यो कार्यक्रम प्रभावकारी हुने देखिएको छ ।

गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङका अनुसार कार्यक्रमले विद्यार्थीलाई श्रम र व्यवसायसँग जोड्ने अवसर दिएको छ । ‘प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति हामी उत्साहित छौँ,’ उनले भने, ‘यो कार्यक्रम सुरु भएपछि नवयुवालाई श्रमसँग जोड्न सहज भएको छ । त्यसैले हामीले आफ्नै लगानी थपेर अरु विद्यालयमा विस्तार गरेका हौँ ।’

उनका अनुसार विशेषगरी प्राविधिक धारमा अध्ययनरत विद्यार्थीका लागि कार्यक्रम अझ उपयोगी बन्न सक्छ । विद्यालयमै उद्यमसम्बन्धी अनुभव हासिल गर्न सके विद्यार्थीले भविष्यमा स्वरोजगारको बाटो रोज्न सक्ने विश्वास अध्यक्ष कुलुङको छ ।

नेपालमा हरेक वर्ष ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिने क्रम जारी छ । यस्तो अवस्थामा विद्यालय तहबाटै व्यवसायिक सोच र सिप विकास गर्न सकियो भने युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्न सकिने कुलुङको भनाइ छ । त्यसैले ‘कमाउँदै पढ्दै’ कार्यक्रमलाई कृषि वा पशुपालनको कार्यक्रमका रूपमा नभई उद्यमशीलता विकासको अभियानका रूपमा हेरिएको छ ।

कोशी प्रदेश सरकारका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई सानै उमेरदेखि श्रम, उत्पादन र आम्दानीको अवधारणासँग परिचित गराउनु हो । अध्ययन पूरा गरेपछि जागिर खोज्ने मात्र नभएर आफैं व्यवसाय सुरु गर्न सक्ने क्षमता विकास गर्नु यसको दीर्घकालीन लक्ष्य हो ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेका अनुसार कार्यक्रमलाई आगामी वर्ष थप विस्तार गर्ने तयारी गरिएको छ । ‘विद्यार्थी अवस्थाबाटै पैसा कमाउने र व्यापार सिकाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो,’ उनले भनिन्, ‘श्रमसँग विद्यार्थीलाई जोडेर आत्मनिर्भर बन्न सिकाउने प्रदेश सरकारको लक्ष्य पूरा गर्न हामी स्थानीय तहसँग सहकार्य गर्न खोजिरहेका छौँ ।’

उनका अनुसार चालु आर्थिक वर्षमा जेनजी आन्दोलन तथा निर्वाचनका कारण कार्यक्रम कार्यान्वयन केही ढिलो भए पनि आगामी वर्षदेखि अझ व्यवस्थित ढंगले सञ्चालन गरिनेछ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ मा थप २१ वटा विद्यालयमा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको छ । केही विद्यालयले कार्यक्रमलाई लिएर उत्साह देखाएका छन् । ‘प्रारम्भीक चरणमै भए पनि विद्यालय, अभिभावक र विद्यार्थीहरुले यसलाई अत्यन्तै सकरात्मक प्रतिक्रिया दिइरहेका छन्,’ न्यौपानेले भनिन्, ‘थप व्यवस्थित गर्दै २०८५ सालसम्ममा कार्यक्रमलाई वृहत रुपमा सञ्चालन गर्ने गरी मन्त्रालयले तयारी गरिरहेको छ ।’

न्यौपानेका अनुसार यो वर्ष प्रदेश सरकारको एकल लगानी वा स्थानीय तहको लागत साझेदारीमा स्थानीय तहको छनोट अनुसार कार्यक्रम गएको थियो । तर, आगामी वर्षदेखि कार्यक्रम लागत साझेदारीको मोडेलमा सञ्चालन गर्ने तयारी छ । स्थानीय सरकारले समेत बजेट लगानी गर्दा कार्यक्रमप्रति स्थानीय तहको पनि अपनत्व बढ्ने र दीर्घकालीन रूपमा प्रभावकारी बन्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

‘आगामी वर्षबाट यो कार्यक्रम लागत साझेदारीमा मात्रै गर्ने योजना छ,’ उनले भनिन्, ‘स्थानीय तहको सहभागिता बढे कार्यक्रम अझ प्रभावकारी र दिगो बन्न सक्छ ।’ प्रारम्भिक चरणमै विद्यार्थी स्वयंले कार्यक्रमको व्यवस्थापन गर्ने, बिउ पुँजी परिचालन गर्ने, पशुपालन गर्ने र आम्दानीको योजना बनाउने अभ्यास सुरु हुनु कार्यक्रमको महत्वपूर्ण उपलब्धि मानिएको छ । यद्यपि, सरोकारवालाहरूले कृषि र पशुपालनसँगै डिजिटल उद्यम, अनलाइन व्यापार तथा स्थानीय आवश्यकता अनुसारका अन्य व्यवसायिक गतिविधिलाई पनि कार्यक्रमभित्र समेट्नुपर्ने सुझाव दिएका छन् ।

विद्यालय, स्थानीय तह र प्रदेश सरकारबीचको सहकार्यमा अघि बढिरहेको ‘कमाउँदै पढ्दै’ कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरको जीवन बुझ्ने अवसर दिइरहेको छ । विद्यार्थीहरु श्रम गर्दै पशुपालन गर्ने मात्र नभइ बजार खोज्ने र व्यवसायसम्म गर्ने हुँदा यसले विद्यार्थीहरुलाई किशोरावस्थाबाट नै श्रमसँग जोड्ने र उत्पादनको व्यापारका लागि बजारसम्म पुग्ने अवसरसमेत दिएको छ । यदि यसलाई स्थानीय परिवेश र समयको मागअनुसार परिमार्जन गर्दै विस्तार गर्न सके यसले भविष्यमा रोजगार खोज्ने मात्र नभएर रोजगार सिर्जना गर्ने पुस्ता तयार पार्न महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको सरोकारवाला बताउँछन् ।