
काठमाडौं, २६ अषाढ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रक्रियामा हुने सम्भावित विकृति र भिजिट भिसाको दुरुपयोग रोक्न सरकारले कडा कदम चालेको छ । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्रभित्र यात्रु तथा आगन्तुकका लागि नयाँ र कडा नियमहरू लागू गरेको हो । यो कदम विशेषगरी भिजिट भिसामा विदेश पठाउने नाममा हुने ‘सेटिङ्ग’ र मानव तस्करीको जोखिमलाई निरुत्साहित गर्न लक्षित छ, जहाँ विभिन्न समूहले आफ्ना व्यक्तिहरूलाई पहिचान गर्न एउटै प्रकारको पोशाक वा सङ्केत प्रयोग गर्ने गरेका थिए । विभागले जारी गरेको दुई बुँदे निर्देशनअनुसार अबदेखि अध्यागमन क्षेत्र, डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारको खादा, माला, फूल वा अन्य सजावटी वस्तुहरूको प्रयोग, प्रदर्शन वा आदान प्रदान गर्न पाइने छैन । विभागका अनुसार, यस्ता वस्तुहरूले सुरक्षा जाँचमा अनावश्यक शङ्का उत्पन्न गर्ने, अध्यागमन प्रक्रियामा ढिलाइ गराउने र प्रशासनिक कार्यमा जोखिम निम्त्याउन सक्ने भएकाले यो नियम लागू गरिएको हो ।यस्तै कुनै विशेष समूह, सङ्गठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको पहिचान वा आबद्धता झल्काउने किसिमका पोशाक, टोपी, ब्याज, वा अन्य कुनै पनि पहिचानजन्य वस्तु लगाएर अध्यागमन क्षेत्रभित्र प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

विभागले यस्तो व्यवस्थाले सबै यात्रुलाई समान व्यवहार सुनिश्चित गर्ने र कुनै यात्रुलाई विशेष व्यवहार गरिएको वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्ने अवस्था आउन नदिने स्पष्ट पारेको छ । विभागले यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सुरक्षित, मर्यादित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न सहयोग गर्न सबै यात्रु, ट्राभल एजेन्सी र एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गरेको छ ।नियमको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ, विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो नयाँ व्यवस्थाले विमानस्थलको सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै भिजिट भिसाको आवरणमा हुने अवैध गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।