हाम्रो पेज
विराटनगर २६, अषाढ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टी–२० विश्वकप २०२६ को लागि एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटको खेल तालिका सार्वजनिक गरेको छ । यो घोषणासँगै भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि नेपालको यात्रा र चुनौतीको खाका स्पष्ट भएको छ । आगामी अक्टोबर ८ देखि ओमानमा सुरु हुने प्रतियोगितामा नेपाललाई समूह बी मा राखिएको छ, जहाँ नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । आईसीसीले सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरेको छ, जसअनुसार समूह ए मा युनाइटेड अरब इमिरेट्स यूएई, मलेसिया र कतार छन् भने समूह सी मा आयोजक ओमान, पपुवा न्युगिनी पीएनजी र समाओ रहेका छन् । नेपाल विरुद्ध कुवेतको खेल अक्टोबर ८ मा हुनेछ भने नेपाल विरुद्ध जापानले अक्टोबर १०मा प्रतिस्पर्धा गर्नेछ । आइसीसी वरीयतामा दुवै टिम नेपालभन्दा निक्कै पछि रहेका छन् । कुबेत २३ औ स्थानमा छ भने जापान ४३ औं स्थानमा रहेको छ । नेपाल भने टी २० वरीयतामा १८ औं स्थानमा रहेको छ। यो छनोटमा नेपालको चिरप्रतिसपर्धी टिम भनेको चाँही यूएई हो, जो नेपालभन्दा ३ स्थान माथि रहेको छ ।
यो छनोट प्रतियोगिताबाट कुल तीन टोलीले विश्वकप २०२६ मा स्थान बनाउनेछन् । यसका लागि प्रतियोगिता दुई चरणमा खेलाइनेछ । समूह चरणमा प्रत्येक समूहबाट शीर्ष दुई टोली अगाडि बढ्दै सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा पुगेका ६ टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष तीनमा रहने टोलीले विश्वकपको टिकट काट्नेछन् । टी–२० विश्वकप २०२६ मा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमध्ये १२ टोलीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । जसमा आयोजक भारत र श्रीलंकासहित २०२४ विश्वकपको प्रदर्शन सुपर ८ मा पुगेका अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । यस्तै आईसीसी वरीयताका आधारमा न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड छनोट भइसकेका छन् । विश्वकपका लागि बाँकी रहेका आठ स्थान क्षेत्रीय छनोट प्रतियोगिताहरूमार्फत भरिनेछन् । जसअनुसार एसिया तथा इस्ट एसिया–प्यासिफिकबाट ३ टोली, युरोपबाट २ टोली, अफ्रिकाबाट २ टोली र अमेरिकाबाट १ टोली छनोट हुनेछन् । यो छनोट प्रतियोगिता नेपालका लागि आफ्नो क्षमता प्रदर्शन गर्दै लगातार तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाउने एक महत्त्वपूर्ण अवसर हो ।