
अष्ट्रिया, १६ । ‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल युरोपियन स्पोर्ट क्लब (एनईएससी) को आयोजनामा आगामी अगष्ट २४ मा अष्ट्रियाको पर्यटकीय शहर इन्सब्रुकमा भलिबल प्रतियोगिता हुने भएको छ ।
युरोपभरि रहेका नेपाली समुदायबीच आपसी भाइचारा, भेटघाट र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता विगतदेखि नै आयोजना हुँदै आएको थियो । यसवर्ष तेस्रो संस्करणको रुपमा हुने प्रतियोगितामा युरोपका विभिन्न देशबाट नेपाली भलिबल क्लबहरूको सहभागिता रहनेछ । समाजसेवीसमेत रहेका आयोजक एनईएससीका उपाध्यक्ष ख्याम विश्वकर्माका अनुसार प्रतियोगिता बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ । प्रतियोगितामा जर्मनीको नेपाल भलिबल क्लब ह्याम्बर्ग, स्वीजरल्याण्डको हिमालयन स्पोट्र्स टिम, फिनल्याण्डको हिमालयन स्पोट्र्स क्लब, नामोबुद्ध स्पोर्ट क्लब र साल्जबर्गको नेपाल कल्चर स्पोर्ट क्लब, नेपाल युरोपियन स्पोर्ट क्लब (एनईएससी)ले सहभागिता जनाउने निश्चित भएको उपाध्यक्ष विश्वकर्माले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले चारलाख पाँचहजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले दुईलाख पाँचहजार रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टिमलाई कप र बल प्रदान गरिनेछ ।
एनईएससीका उपाध्यक्ष विश्वकर्माले यस प्रतियोगिता नेपाली समुदायबीचको एकता र समझदारीलाई अझ मजबुत बनाउने माध्यम भएको बताए । ‘खेलकुदले हामीलाई शारीरिक रुपमा मात्र होइन, मानसिक र सामाजिक रुपले पनि बलियो बनाउँछ,’ उनले भने, ‘युरोपमा रहेका नेपालीबीच आपसी चिनजान, मित्रता र आत्मीयता फैलाउने यस्तो आयोजनाले हाम्रो समुदायलाई अझ नजिक ल्याउनेछ ।’
एनईएससीका उपाध्यक्ष विश्वकर्माले नेपाली समुदायका युवा तथा खेलप्रेमीहरुलाई खेलकुदमार्फत सकारात्मक ऊर्जा र जीवनशैलीतर्फ आकर्षित गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
प्रतियोगितामा दर्शककालागि साँझ सांस्कृतिक नृत्य र खानपानको कार्यक्रम पनि आयोजना गरिनेछ । एनईएससीले युरोपभरि रहेका नेपाली व्यवसायी, विद्यार्थी र अन्य क्षेत्रमा संलग्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई खेलको अवलोकन गरी मनोरञ्जन लिन आग्रह पनि गरेको छ ।