ऋणको भारी बोक्दैन धरान, आफ्नै खोलाको पानीले गुजारा गर्छौंःमेयर हर्क साम्पाङ

हाम्रो पेज

१९ असार २०८२, बिहीबार १९:३९

ऋणको भारी बोक्दैन धरान, आफ्नै खोलाको पानीले गुजारा गर्छौंःमेयर हर्क साम्पाङ
विरानटनगर, अषाढ १९ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारको दृष्टिकोणप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै स्वाभिमान र आत्मनिर्भरताको एक शक्तिशाली सन्देश दिनुभएको छ । संघीय सरकारले आगामी बजेटमा धरानका लागि छुट्याएको ४ करोड रुपैयाँ र बाँकी रकम एसियाली विकास बैंक एडीबी बाट ऋण लिनुपर्ने प्रस्तावप्रति उहाँले लिखित रूपमै आपत्ति जनाउनु भएको छ ।

 

खानेपानी मन्त्री प्रदीप यादवलाई पत्र पठाउँदै मेयर साम्पाङले धरानले अब थप ऋणको भारी बोक्न नसक्ने स्पष्ट पार्नुभएको छ । उपमहानगरपालिकाले पहिले लिएको ऋणसमेत तिर्न बाँकी रहेको अवस्थामा थप ऋण लिनु न्यायोचित हुँदैन, उहाँले पत्रमा लेख्नु भएको छ, यदि आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सक्नुहुन्छ भने मात्र योजना अगाडि बढाउनुहोला, अन्यथा हामी आफैं खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला। मेयर साम्पाङले धरानको खानेपानी समस्यालाई राष्ट्रिय मुद्दा बनाउन निरन्तर सङ्घर्ष गर्दै आउनु भएको छ । धराने जनताको काकाकुल अवस्थालाई दर्शाउन उहाँ रित्तो गाग्रो बोकेर समेत सिंहदरबारको ढोका ढकढक्याउन पुग्नु भएको छ । तर धरानको पीडा सुनाउँदा उहाँले आश्वासनबाहेक ठोस उपलब्धि पाउन सक्नु भएको छैन् । खानेपानी मन्त्रीलाई पत्र पठाएपछि उहाँले सामाजिक संजालमा लेख्नु भएको छ, ऋण लिएर त लाटाले पनि बिकास गर्न जान्दछ ! बिना ऋण श्रमदान गरेर बिकास गरेर देखा न अनि पत्याउँछु ! तेरिमा गफाडी ऋणाहा !