विराटनगरमा पुस ९ गतेदेखि विराट ट्रेड एक्स्पो

हाम्रो पेज

२२ मंसिर २०८२, सोमबार १५:२१

विराटनडगर, २२ मंसिर । मोरङ उद्योग व्यापार संघले पुस ९ गतेदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ को आयोजना गर्ने भएको छ । विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित श्रीराधाकृष्ण मन्दिरको पूर्व जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फको खुल्ला मैदानमा आयोजना गर्न लागिएको विराट ट्रेड एक्स्पो पुस १९ गतेसम्म चल्ने छ । मोरङ उद्योग व्यापार संघले सोमबार पत्रकार सम्मेलन गरेर विराट ट्रेड एक्स्पो सम्पन्न गर्न २ करोड ५० लाख भन्दा बढी रुपैयाँ खर्च लाग्ने बताएको छ। संघका अध्यक्ष अनुपम राठीले संघका सचिव अमित सारडालाई संयोजक र कार्यसमिति सदस्य विनित सिंघानियालाई सह–संयोजकको जिम्मेवारी दिएर विराट ट्रेड एक्स्पोको कामलाई अगाडी बढाइएको बताउनुभयो । नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशका २ सय ३० देखि २ सय ४० वटा स्टल विराट ट्रेड एक्स्पोमा रहने अध्यक्ष राठीले बताउनुभयो । अध्यक्ष राठीले सुनसरी–मोरङ औद्योगिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ एक्स्पोको आयोजना गर्न लागेको बताउनुभयो । एक्स्पोका लागि ८० प्रतिशत स्टल बुक भइसकेको अध्यक्ष राठीले बताउनुभयो । एक्स्पोमा २६ वटा विदेशी स्टल रहने छ । सबै देशको पहिचान झल्किने गरी स्टलको अगाडी देश र कम्पनीको नाम रहने राठीले बताउनुभयो । बिहान १० बजेदेखि राती ९ बजेसम्म एक्स्पो संचालनमा रहने छ । एक्स्पो प्रवेशका लागि १ सय ५० रुपैयाँ टिकटको मूल्य निर्धारण गरिएको छ । एक्स्पोको अवलोकन गर्न आउने स्कुल र कलेजका विद्यार्थीहरूको हकमा टिकट नलाग्ने व्यवस्था गरिएको छ ।त्यसका लागि स्कुल र कलेजका सञ्चालकहरूले विद्यार्थीहरूलाई स्कुल र कलेजकै पोसाकमा ल्याउनु पर्नेछ । एक्स्पो अवधिभर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने गरी स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत रहने राठीले बताउनुभयो ।