हाम्रो पेज
काठमाडौं, ६ अषाढ I देशको पूर्वी क्षेत्रमा वर्षा केही कम भएपनि मनसुनी वायु पश्चिमतिर सर्दा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा भएको छ।
लगातारको वर्षाले बबई र कर्णाली नदीमा बाढीले खतराको तह पार गरेको छ भने बाढी पूर्वानुमान महाशाखाले आज ५६ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी र पहिरोले आधा दर्जनभन्दा बढी सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४१ वटा सडक एकतर्फी मात्र सञ्चालनमा छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार, देशको पश्चिमी भूभागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको त्रि आयामिक प्रभावले मौसमलाई थप सक्रिय बनाएको छ। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार, पश्चिममा धेरै वर्षा गराउने यो प्रणाली अबको ४, ५ दिनसम्मै सक्रिय रहने सम्भावना छ।लगातारको वर्षाले बाँके, बर्दिया, दाङ, बागलुङ, पाल्पा र कास्कीमा बाढी आएको छ। बाँकेको बार्गदह, बर्दियाको रानीजरुवा, कुर्मागाउँ र रम्भापुरमा बाढीले खतराको तह पार गरेको छ। कर्णाली नदी बर्दियाको दौलतपुरमा पनि बाढी खतराको तहमा पुगेको छ। नारायणी नदी, बागलुङ, पाल्पा र कास्कीमा पनि नारायणी र त्यसका सहायक नदीहरूमा बाढी आएको छ। यसअघि नै पूर्वपश्चिम राजमार्गको विनयी खोलामा बाढीले यात्रुवाहक बस बगाएको थियो, जहाँ ३८ यात्रुको सकुशल उद्धार गरिएको थियो।
बाढीको चेतावनीः ५६ जिल्ला उच्च जोखिममा, २२ मा ‘एल्लो अलर्ट’
बाढी पूर्वानुमान महाशाखाले आज देशका ५६ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। कोशी, नारायणी, कर्णाली, महाकाली र बबईजस्ता प्रमुख नदीहरूको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। संखुवासभा, गोरखा, लमजुङ, कास्की, बागलुङ, बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरासहित २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै ‘एल्लो अलर्ट’ जारी गरिएको छ।बाढी र पहिरोका कारण देशभरको सडक सञ्जाल नराम्ररी प्रभावित भएको छ। सडक विभागका अनुसार अर्घाखाँचीको सालझण्डी सन्धीखर्क, सल्यानको राप्ती राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र गुल्मीको तानसेन रिडीकोरला सडक लगायत ६ वटा सडक खण्ड पूर्ण रूपमा बन्द छन्। यस्तै देशभरका ४१ वटा अन्य सडकहरू एकतर्फी मात्र सञ्चालनमा छन्। अन्त्यमा, मनसुन पश्चिममा केन्द्रित भएसँगै त्यस क्षेत्रमा बाढी र पहिरोको जोखिम उच्च देखिएको छ। सम्बन्धित निकायले सबैलाई आवश्यक सावधानी अपनाउन, जोखिमपूर्ण यात्रा नगर्न र नदी तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।
