अष्ट्रेलियाका स्टार डेभिड वार्नरले एनपीएल खेल्ने, काठमान्डु गोर्खाजमा अनुवन्ध

हाम्रो पेज

३० भाद्र २०८३, मंगलवार १४:३१

एनपीएल खेल्न आउने विदेशी खेलाडीमध्ये वार्नर अहिलेसम्मकै सबैभन्दा ठूलो नाम

विराटनगर, ३० भाद्र । अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन् । एनपीएलको टोली काठमाण्डौ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ । ३९ वर्षीय डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाडी हुन् । यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धावन, दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो । वार्नरले ११० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ शतक र २८ अर्धशतकसहित ३ हजार २७७ रन बनाएका छन् । यस्तै उनले समग्र ४३९ टी–२० क्रिकेटमा १० शतक र ११८ अर्धशतकसहित १४ हजार २८४ रन बनाएका छन् । वार्नरसँग भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, वेस्ट इन्डिजको सीपीएललगायतका टी–२० लिग खेलेको अनुभव छ ।

एनपीएलको तेस्रो सिजन कात्तिक ९ गतेबाट सुरु हुँदैछ । काठमान्डु गोर्खाजले यसअघि नै श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई अनुबन्ध गरिसकेको छ । एनपीएल खेल्न आउने विदेशी खेलाडीमध्ये वार्नर अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन् । अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए । २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ चुनिएका थिए । साथै उनले अस्ट्रेलियाबाट २०२१–२३ को विश्व टेस्ट च्याम्पियनसिप पनि जितेका थिए ।

‘डेभिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन, यसका लागि महिनौंसम्म छलफलहरू भएका थिए र यसमा सहभागी सबैको कुरा–चित्त, धैर्यता र विश्वास गराउन महिनौं लाग्यो । तर उनी स्तरको खेलाडीले काठमाडौंको प्रतिनिधित्व गर्ने र टीयू मैदानमा खेल्ने सम्भावनाले हरेक प्रयासको मूल्य बनायो,’ काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भन्नुभयो,  ‘म सानैदेखि क्रिकेटको उत्साही प्रशंसक हुँ, लाखौं नेपालीहरूजस्तै म पनि हाम्रो देशमा विश्वका महान् क्रिकेट खेलाडीहरू खेलेको देख्ने सपना झैं ठूलो भएर हुर्केको हुँ । आज त्यो सपनाको सानो अंशलाई वास्तविकतामा बदल्न मद्दत गर्न सक्ने स्थितिमा हुँदा म अत्यधिक गौरवान्वित छु ।’

वार्नरले अस्ट्रेलियाबाट १ सय १२ टेस्ट, १ सय ६१ एकदिवसीय अन्तर्राष्ट्रिय र १ सय १० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनले १४२ माथिको स्ट्राइक रेटमा ३ हजार २ सय ७७ रन बनाएका थिए । उनको नाममा ८ हजार ७ सय ८६ टेस्ट र ६ हजार ९ सय ३२ एकदिवसीय अन्तर्राष्ट्रिय रन रहेको छ । वार्नरले पछिल्लो पटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेका थिए । उनले २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा अविजित ३ सय ३५ रन बनाएका थिए । अस्ट्रेलियाली खेलाडीहरूको टेस्ट क्रिकेटमा यो दोस्रो उच्च स्कोर हो । ३९ वर्षे वार्नरले आफूलाई विश्वकै उत्कृष्ट ओपनरका रूपमा स्थापित गरेका थिए । उनले सबै खाले टी–२० मा ४ सय ३९ खेल खेल्दै १४० भन्दा बढीको स्ट्राइक रेटमा १४ हजारभन्दा बढी रन बनाएका छन् । इन्डियन प्रिमियर लिग आईपीएल मा उनलाई तत्कालीन दिल्ली डेयरडेभिल्सले सन् २००९ मा लिएको थियो । उनी २०१३ सम्म दिल्लीमै रहे । २०१४ मा सनराइजर्स हैदराबाद लागेका उनी २०१५ मा कप्तान बने । २०१६ मा उनले सनराइजर्स हैदराबादलाई आईपीएल च्याम्पियन बनाएका थिए । उनले आईपीएलका सात सिजनमा ५ सयभन्दा बढी रन बनाए । २०१५, २०१७ र २०१९ मा उनी आईपीएलका सर्वाधिक रनकर्ता थिए ।