search logo
NOTIFICATIONS

नेकपा एमालेको नेतृत्व चयनको मतदान भोलि विहानमात्रै सकिने

हाम्रो पेज

२ पुष २०८२, बुधबार १९:११

काठमाडौं, २ पुस । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान ‘कछुवा गति’मा अघि बढिरहेको छ । यही रफ्तारले भोलि विहान मात्रै मतदान सकिने देखिएको छ । लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरु लामो समय अल्मलिने गरेका छन् । अध्यक्षका दुई प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले आआफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । मतदाताहरु प्यानलको सूची बोकेर मतदान गर्न जाँदा ढिलाइ भएको हो । विद्युतीय भोटिङ मेसिनका सञ्चालक राम–लक्ष्मणमध्येका रामले भन्नुभयो, ‘सुरुसुरु फोटो र नाम हेरेर मतदान गरेको भए चाँडै सकिन्थ्यो । यता सूची हेर्दै उता फोटो खोज्दै गर्दा ढिलाइ भइरहेको छ ।’ प्यानल सूचीबिना मतदान गर्न गएकाहरुले आधा घन्टाभित्रै सिध्याउने तर सूची बोकेर गएकाहरुले डेढ घन्टासम्म समय खपत गरिरहेको उहाँले जानकारी दिनुभयो । ५ बजेसम्म करिब ८ सयले मात्रै मतदान गरिसकेका छन् । महाधिवेशनमा २२६३ मतदाता छन् । उनीहरुले ६४२ उम्मेदवारहरुबाट छानेर ३०१ पदका लागि मतदान गर्नुपर्छ । यही गतिमा मतदान हुँदा भोलि बिहान चार बजेसम्म सकिने रामले बताउनुभयो ।