
चितवन, ५ आश्विन । पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।सडक डिभिजन कार्यालय भरतपुरले आइतबार अपराह्न ४ः१५ बजेदेखि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको जानकारी दिएको छ। तुइनखोलामा पहिरो जाँदा उक्त सडकखण्ड करिब ४५ घण्टादेखि अवरुद्ध थियो। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए। अवरुद्ध सडक खुलाउन आज बिहानैदेखि पहिरो पन्छाउने काम भएको थियो। पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो । पहिरो पन्छाए पनि माथि भीरबाट ढुङ्गा तथा माटो खस्ने क्रम रोकिएको छैन । राजमार्ग बन्द हुँदा सयौं यात्रु शुक्रबार साँझदेखि सडकमै अलपत्र परेका छन् । काठमाडौं र पोखराबाट चितवनतर्फ प्रस्थान गरेका तथा चितवनबाट काठमाडौं पोखरातर्फ आउन लागेका यात्रुहरू सडकमै रोकिनु परेको थियो ।