
काठमाडौं, २८ आश्विन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवादम्पती जेनजी आन्दोलनको ३४ दिनपछि आज सार्वजनिक हुनु भएको छ । देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिनु भएकोछ । उहाँले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै पार्टीको कार्यवाहक उपसभापतिसमेत रहेका खड्कालाई हस्तान्तरण गरेको बताउनु भएको हो । देउवा जेनजी आन्दोलन भएको भदौ २४ पछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा पर्नुभएको हो । “१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु,” देउवाको भनाइ थियो । देउवाले ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएका सबै घटनाको छानबिनको माग गर्नुभएको छ । भदौ २४ गते प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएपश्चात् पहिलोपटक मंगलबार असोज २८ सार्वजनिक भएका देउवाले यस्तो माग गर्नुभएको छ । देउवा कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन ललितपुरको सानेपास्थित पार्टी कार्यालय पुग्नु भएको हो । बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गर्नुभएको हो । प्रदर्शनकारीको आक्रमणमा परेकी तत्कालीन परराष्ट्रमन्त्री समेत रहेकी देउवापत्नी आरजु राणा पनि उहाँसँगै सानेपा पुग्नु भएको छ । देउवाले आफूहरुमाथि भदौ २४ गते घृणितरुपमा दुर्व्यवहार भएको बताउनु भयो । केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गर्दै उहाँले निकै लामो समयपछि सुरक्षाकर्मीले आफूहरुलाई उद्धार गरेको उल्लेख गर्दै त्यसपछि पनि प्रतीष्ठामा आँच पुर्याउन दुर्व्यवहार गरिएको बताउनुभयो । “हामीमाथि घृणितरुपमा दुर्व्यवहार भयो, । घण्टौँपछि सुरक्षाकर्मीबाट उद्धार गरियो,” देउवाको भनाइ थियो, “त्यसपछि पनि हाम्रो सामाजिक प्रतिष्ठामा आँच पुर्याउन दुष्प्रचार गरियो । भ्रष्टाचारविरुद्ध भनेर नारा दिएको छ । किसुनजीको आश्रम, गणेशमानको निवास र कृष्णप्रसाद कोइरालाको निवास जलाइएको छ । कांग्रेसका नेताको घर जलाइएको छ । आतंकित हुने होइन एक हुने बेला हो ।” देउवाले सम्बोधन गरेपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । ३० गते बस्नेगरी बैठक स्थगित भएको हो । बैठकअघि सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको छ । महामन्त्रीद्वयसँग बैठकको एजेण्डाबारे छलफल भएपनि कुनै सहमति बन्न सकेन ।सभापतिसँगको भेटमा महामन्त्रीद्वयले मंसिरमा महाधिवेशन गर्ने गरी अघि बढ्न प्रस्ताव राखेका थिए । तर, देउवासँग कुरा नमिलेपछि थप छलफलको लागि बैठक स्थगित गरिएको हो । जेनजी आन्दोलनका क्रममा देउवा दम्पतिमाथि बुढानिलकण्डस्थित निकासमै आक्रमण भएको थियो । त्यसपछि दुवै जनाको लामो समय उपचार चलेको थियो ।
