नेपालमा यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण आज, ब्लड मुनको दृश्य देख्न सकिने

हाम्रो पेज

२२ भाद्र २०८२, आईतवार १२:११

काठमाडौं, २२ भाद्र । नेपाल पञ्चांग निर्णायक विकास समितिले आज आइतबार यस वर्षको पहिलो खग्रास पूर्ण चन्द्रग्रहण लाग्ने घोषणा गरेको छ। यो खगोलीय घटना नेपाल लगायत एसिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन्। समितिका अनुसार, ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ भने राति ११ बजेर ५६ मिनेटमा यसको मध्य हुनेछ। ग्रहण राति १ बजेर ४१ मिनेटमा समाप्त हुनेछ। समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले काठमाडौंबाट करिब साढे तीन घण्टासम्म चन्द्रग्रहणको दृश्य देखिने जानकारी दिनुभएको छ । । यो ०८२ सालको पहिलो ग्रहण हो र आउँदो फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्ने पनि समितिले जनाएको छ। खग्रास चन्द्रग्रहणका बेला चन्द्रमा रातो रंगको देखिनेछ। यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ। पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिने र रातो प्रकाश मात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिन्छ। यो एक अद्भुत खगोलीय दृश्य हुनेछ। खगोल विज्ञान अनुसार, जब सूर्य, पृथ्वी र चन्द्रमा आ-आफ्नो कक्षमा घुम्ने क्रममा एक सीधा रेखामा आउँछन्, तब पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ। यस अवस्थामा चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ। पृथ्वीको छायाले चन्द्रमालाई पूर्ण रूपमा ढाकेमा खग्रास र आंशिक रूपमा ढाकेमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ। धार्मिक मान्यतामा विश्वास गर्नेहरूले ग्रहणको समयलाई शुभ मान्दैनन् र पूजापाठ तथा भोजन निषेध गर्ने गर्छन् ९बालबालिका, वृद्धवृद्धा र बिरामी बाहेक०। शास्त्रीय मान्यताअनुसार, आज दिउँसो १ बजेर ११ मिनेटपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नु हुँदैन।  यद्यपि, वैज्ञानिकहरू यस मान्यतालाई स्वीकार गर्दैनन्। उनीहरू यस्ता खगोलीय घटनालाई वैज्ञानिक तरिकाले हेरेर वा प्रयोगात्मक रूपमा अध्ययन गरी फाइदा लिन सुझाव दिन्छन्। चन्द्रग्रहण नाङ्गो आँखाले हेर्न पूर्णरूपमा सुरक्षित हुन्छ र सूर्यग्रहणको विपरीत लामो समयसम्म चल्छ। आजको ८२ मिनेट लामो पूर्ण चन्द्रग्रहण हालैका वर्षहरूमा देखिएका सबैभन्दा लामो पूर्ण चन्द्रग्रहणहरूमध्ये एक हो। चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दु पेरिजीमा पुग्नुभन्दा ठीक अघि हुने भएकाले आकाशमा सामान्यभन्दा अलिकति ठूलो पनि देखिनेछ। वर्षको प्रत्येक पूर्णिमालाई मौसम परिवर्तन वा त्यस समयमा हुने घटनाहरूमा आधारित परम्परागत उपनाम दिइने गरिन्छ। सेप्टेम्बरको पूर्णिमालाई मकै चन्द्रु भनिन्छ, किनभने यो मकै भित्र्याउने समय हो। त्यसैले, यो रक्तचन्द्रलाई मकै चन्द्र नाम दिइनु २०२५ का लागि मात्र विशेष नभई हरेक सेप्टेम्बरमा आउने पूर्णिमाको नाम हो। खगोलप्रेमीहरूका लागि यो एक स्वर्णिम अवसर हो, जसले ब्लड मुनको अनुपम र मनमोहक दृश्यको अनुभव गर्न सक्नेछन्।