आज देशभर वर्षा, ४२ जिल्लामा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

हाम्रो पेज

३१ असार २०८२, मंगलवार १२:११
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना


विराटनगर ३१ अषाढ । मनसुनको न्यून चापीय रेखा पूर्वी नेपाल नजिक सरेसँगै आज देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशमा भारी वर्षाको सम्भावना औंल्याएको छ भने जल तथा मौसम विज्ञान विभागले ४२ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति सबै प्रदेशमा वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। रातिको समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा ठूलो पानी पर्न सक्नेछ। लामो समयदेखि सुक्खा खडेरीको मारमा परेको मधेस प्रदेशमा आज राति पूर्वी भूभाग र भोलि पूरै प्रदेशभर हल्कादेखि मध्यम वर्षाको सम्भावनाले राहतको आशा जगाएको छ। सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेसमा पानी नपर्दा अधिकांश खेतमा रोपाइँ हुन सकेको छैन भने रोपिएका खेत पनि चिरा परेका छन्। खानेपानीका मुहान सुक्न थालेपछि हाहाकार मच्चिएको अवस्थामा यो वर्षाले केही राहत दिने अपेक्षा छ। यद्यपि, वर्षाको मात्रा यकिन अनुमान गर्न कठिन रहेको मौसमविद्हरू बताउँछन्।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली जस्ता प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो क्रममा छ। तर, देशका ४२ जिल्लाका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम देखिएको छ। ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, र भक्तपुरमा आकस्मिक बाढीको सम्भावना उच्च रहेको छ भने इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व र पश्चिम, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, र दार्चुलामा बहाब उल्लेख्य बढ्ने अनुमान गरिएको छ । महाशाखाले यी ४२ जिल्लालाई पहेँलो रङ एल्लो अलर्टमा राख्दै नदीतटीय क्षेत्र तथा जोखिमयुक्त स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न सुझाव दिएको छ।