हाम्रो पेज
काठमाडौं, १५ आश्विन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबारसम्म १ हजार ४५५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५३ जनाको शव फेला परेको हो । साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शव व्यवस्थापन ९माटोमुनि सुरक्षित राखिएको० गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै, पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी, विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २३४ जनालाई राखिएको छ ।
चीनद्वारा नेपाललाई दुईवटा बेली पुल हस्तान्तरण

यस्तै , चीनको सिजाङ तिब्बत स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार चीनले पहिलो चरणमा १०० मिटर लम्बाइका दुईवटा बेली पुल निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।
ल्हासास्थित नेपालको महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण तथा ग्रहण समारोहमा ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला र सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उप(महानिर्देशक ओउयाङ झिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरी एक–आपसमा आदानप्रदान गरेका थिए। समारोहमा ल्हासास्थित नेपाली महावाणिज्य दूतावास तथा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका अधिकारीहरूको उपस्थिति थियो।
पुलका सामग्रीहरू माथिल्लो मुस्ताङको कोरोला लिजी सीमा बिन्दुमा आइपुगेका छन्। नेपाली पक्षले ती सामग्री बुझेर बाढी प्रभावित क्षेत्रमा पुल जडानको प्रक्रिया अघि बढाउनेछ। पुलको प्रभावकारी र सहज जडानका लागि चिनियाँ पक्षले आवश्यक प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको छ। चिनियाँ प्राविधिकहरू छिट्टै नेपाल आउने बताइएको छ। चीनले उपलब्ध गराएका सामग्रीमा बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल तथा पाइप वेल्डिङ लगायतका सामग्री रहेका छन्।