हाम्रो पेज
विराटनगर, १४ अशोज I विकासको अर्थ ठूला आयोजना र भव्य संरचनामै सीमित हुँदैन । वर्षायाममा हिलाम्ये नहुने सडक, रातमा झलमल्ल बल्ने सडकबत्ती र घरदैलोमै पुग्ने स्वास्थ्य सेवा नागरिककालागि विकासका प्रत्यक्ष अनुभूति हुन् । विराटनगर महानगरपालिका–५ मा पछिल्ला चार वर्षमा भएका कामले विकासको यही व्यावहारिक स्वरूप देखाउन थालेको छ ।साढे ६ किलोमिटर सडक कालोपत्रे
चार वर्षको अवधिमा वार्ड नं. ५ मा करिब साढे ६ किलोमिटर सडक कालोपत्रे भएको छ भने करिब २५ किलोमिटर सडक ढलान तथा ग्राभेल गरिएको वडा कार्यालयले जनाएको छ । विगतमा वर्षायाम सुरु भएसँगै हिलो र आवागमनको समस्याले सताउने अधिकांश बस्तीमा अहिले सडकको अवस्था सुधारिएको छ ।
वडाले करिब ९५ प्रतिशत क्षेत्र हिलोमुक्त भएको दाबी गरेको छ । दामाबन्दी क्षेत्रका केही ग्राभेल सडकलाई भने यसै वर्ष कालोपत्रे गर्ने तयारी भइरहेको छ । ‘हामीले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरेका छांै । सडक, नाला र बिजुलीको क्षेत्रमा धेरै काम भएको छ । अहिले वडाका अधिकांश बस्ती हिलोमुक्त भएका छन्,’ वडाध्यक्ष न्यौपानेले भने, ‘अब अधुरा योजना पूरा गर्ने र सेवाको गुणस्तर अझ सुधार गर्ने हाम्रो लक्ष्य हो ।’

पाँच चोकमा फ्लडलाइट
सडक निर्माणसँगै रातको आवागमन र सुरक्षालाई सहज बनाउन वडाका पाँच प्रमुख चोकमा फ्लडलाइट जडान गरिएको छ । पोखरी चोक, बाबा चोक, त्रिमुर्ति चोक र पृथ्वी चोकलगायतका स्थान अहिले रातमा उज्यालो हुने गरेका छन् ।
यी चोकमा उज्यालो रहेकाले गर्मीयामको समय भएकाले राति अबेरसम्म मानिसको चहलपहल देखिन्छ । अन्य क्षेत्रमा पनि सडक उज्यालो बनाउने योजना कार्यान्वयनको चरणमा रहेको वडा कार्यालयले जनाएको छ । विद्युत् अवरोधका कारण सडकबत्ती नबल्ने समस्या समाधान गर्न सम्बन्धित निकायसग नियमित समन्वय भइरहेको छ ।
नाला व्यवस्थापनमा जोड
वर्षायाममा पानी जम्ने र सडकमा समस्या देखिने अवस्था कम गर्न नाला व्यवस्थापनलाई पनि वडाले प्राथमिकतामा राखेको छ । वर्षायामअघि तथा वर्षायामकै क्रममा नाला सफा गर्ने, ब्लकेज हटाउने र पानीको निकास सहज बनाउने काम भएको छ ।
यद्यपी घरअगाडिको सरसफाइमा नागरिकको पर्याप्त ध्यान नपुग्दा कतिपय स्थानमा समस्या दोहोरिने गरेको जनप्रतिनिधिहरूको भनाइ छ । सचेत नागरिकले आफ्नो घर अगाडीको नालामा फोहोर पसे आफै निकाल्ने गर्छन् । तर, नाला बेवास्ता गर्ने र जाम भए वडा कार्यालयको प्रतिक्षा गर्नेहरुले वर्षाको बेला समस्या भोग्ने गरेका छन् ।
ज्येष्ठ नागरिकको घरदैलोमै स्वास्थ्य सेवा
पूर्वाधारसगै सामाजिक सेवाको दायरा विस्तार गर्ने प्रयास पनि वडाले गरेको छ । विशेषगरी ज्येष्ठ नागरिक, असहाय तथा दीर्घरोगीलाई लक्षित गरेर घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने कार्यक्रम सञ्चालन गरिएको छ ।
ज्येष्ठ नागरिकको घरमै पुगेर रक्तचाप जाच गर्ने र आवश्यक औषधि उपलब्ध गराउने गरिएको छ । ८० वर्षभन्दा माथिका असहाय तथा दीर्घरोगीलाई आवश्यक परे निःशुल्क एम्बुलेन्समार्फत अस्पताल पु¥याएर उपचारको व्यवस्था मिलाउने गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
‘ज्येष्ठ नागरिकलाई अस्पतालसम्म पुग्नै समस्या हुन्छ । त्यसैले उहाँहरूलाई घरबाटै सेवा दिने र आवश्यक परे निःशुल्क एम्बुलेन्सबाट अस्पताल पु¥याउने व्यवस्था गरेका छौ,’ उहाँले भन्नुभयो । वडाका जनप्रतिनिधि र कर्मचारीले जेष्ठ नागरिकलाई आफ्नो अभिभावक सरह सेवा दिदै आएका छन् ।

शिक्षामा लगानी
वडाले शिक्षालाई पनि विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाएको जनाएको छ । मदरसा तथा आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री तथा आवश्यक पाठ्यक्रम उपलब्ध गराउने काम हुँदै आएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विपन्न परिवारका बालबालिकालाई विद्यालयमा टिकाइराख्ने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ । जसकालागि विद्यार्थीलाई प्रोत्साहन गर्न शैक्षिक सामग्री बितरण गरिने गरिएको छ । विद्यार्थीकालागि विद्यालयमै सम्भावित महामारी रोकथामका लागि खोप कार्यक्रम संचालन गरिन्छ ।
महिलालाई सीप, सीपलाई आयआर्जनसँग जोड्ने प्रयास
महिला तथा लक्षित वर्गलाई सीपमूलक तालिममार्फत आयआर्जनसँग जोड्ने कार्यक्रमसमेत सञ्चालन गरिएको छ । फिनेल, सर्फ, साबुन बनाउनेदेखि ब्युटी पार्लरसम्मका तालिम सञ्चालन गरी महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने प्रयास गरिएको छ ।
तालिम पाएका कतिपयले ब्यवसायसमेत संचालन गर्न थालेका छन् । महिलाहरुले समुह बनाएर कारोबार पनि गर्दै आएका छन् । ‘सीप सिकेर घरमै बसेर पनि आम्दानी गर्न सक्ने वातावरण बनाउने हाम्रो उद्देश्य हो,’ अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना छ ।’

ज्येष्ठ नागरिक र संघसंस्थाका लागि संरचना
वडामा ज्येष्ठ नागरिक तथा विभिन्न संघसंस्थाका लागि भवन र जग्गा व्यवस्थापनको कामसमेत अघि बढाइएको छ । आवश्यकता र प्राथमिकताका आधारमा विकासका कार्यक्रम सञ्चालन गरिएको जनप्रतिनिधिहरूको भनाइ छ ।
विकासका योजनालाई टोल र बस्तीका जेष्ठ नागरिकको आवश्यकतासँग जोडेर अघि बढाइएको वडाले जनाएको छ । ‘हामीले विकासका कामलाई टोल र बस्तीको आवश्यकतासँग जोडेर अघि बढाएका छौं । जनप्रतिनिधिबीच राम्रो समन्वय भएकाले काम गर्न सहज भएको छ,’ वडा सचिव राजेन्द्र पराजुलीले भन्नुभयो । जनप्रतिनिधिहरु आ–आफ्नो जिम्मेवारीअनुसार बस्तीका समस्या समाधानमा सक्रिय रहेको बताउँछन् । वडाका हरेक टोल भित्रका समस्यालाई सदस्यहरुले बैठकमा राख्छन् र समाधानको प्रयासमा सामुहिक रुपमा लाग्ने गरेका छन् ।
सेवा प्रवाहमा कर्मचारीको साथ
वडा सचिव पराजुली नेतृत्वको कर्मचारी टोलीले योजना कार्यान्वयन र सेवा प्रवाहमा जनप्रतिनिधिलाई साथ दिंदै आएको छ । कर्मचारी र जनप्रतिनिधि बीचको समन्वय राम्रो भएकाले पनि वडा विकासमा सहज भएको हो ।
‘जनप्रतिनिधिले योजना र प्राथमिकता तय गर्नुहुन्छ, कर्मचारीको जिम्मेवारी त्यसलाई प्रक्रियागत रूपमा सहज ढंगले कार्यान्वयन गर्नु हो,’ सचिव पराजुलीले भन्नुभयो, ‘नागरिकलाई सकेसम्म छिटो र सहज सेवा दिने हाम्रो प्रयास रहन्छ ।’
अभिलेख र पुरानाको सम्मान
वडाले पछिल्लो समय केही चुनौतीसमेत सामना गर्नुपरेको जनाएको छ । पछिल्लो जेनजी आन्दोलनका क्रममा वडाका धेरै अभिलेख नष्ट भएको र केन्द्रीय सर्भर सुस्त हुँदा करदाता तथा सेवाग्राहीले समस्या भोग्नुपरेको वडा कार्यालयको भनाइ छ ।
अर्कोतर्फ सडक तथा नाला वर्षमा दुईपटक सफा गरिएपनि घरअगाडि सरसफाइ नगर्ने प्रवृत्तिका कारण कतिपय स्थानमा समस्या दोहोरिने गरेको जनप्रतिनिधिहरू बताउँछन् । दलित तथा पिछडिएका समुदायलाई लक्षित थप रोजगारीमुखी कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ । पुराना जनप्रतिनिधिलाई सम्मान गर्दै हालसम्मका वडा अध्यक्षहरुको बिवरणसहित वडाअध्यक्षको कार्यकक्षमा तस्वीरहरु राखिएको छ । जेनजी आन्दोलनमा जलाइएपनि पुनः फोटो संकलन गरेर अध्यक्ष न्यौपानेले पुरानाहरुलाई उच्च सम्मान दिएका छन् ।

धुधुवा पैनीको योजना निर्णायक
वडा–५ को आगामी विकासमा धुधुवा पैनी क्षेत्रको बाटो, नाला तथा तटबन्ध निर्माणलाई महत्वपूर्ण योजनाका रूपमा हेरिएको छ । संघीय सरकार र विराटनगर महानगरपालिकाको बजेटबाट अघि बढिरहेको यो योजना पूरा भएपछि डीपीएसदेखि धरमपुरासम्मका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने वडा कार्यालयको अपेक्षा छ । चार वर्षमा सडक, नाला, सडकबत्ती र नागरिक सेवाको दायरा विस्तार गरेको वडा–५ अब अधुरा योजना पूरा गर्ने चरणमा पुगेको छ ।
दामाबन्दी क्षेत्रका सडक कालोपत्रे गर्ने, बाँकी पूर्वाधारलाई पूर्णता दिने, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा लक्षित वर्गलाई रोजगारी र आयआर्जनसग जोड्ने कामलाई आगामी प्राथमिकतामा राखिएको छ । बदलिदो बस्ती, सुधारिदै गएको सडक, उज्यालिदै गरेका चोक र घरदैलोमै पुग्न थालेको सेवाले विराटनगर–५ को विकास यात्रालाई नयाँ चरणतर्फ अघि बढाएको छ । पूर्वमा कोशी राजमार्ग र पश्चिममा सिंघिया खोला सीमाना रहेको यस वडामा हरेक वर्ग र जातजातीको बसोबास छ ।