search logo
NOTIFICATIONS

प्रथम प्रदीप स्मृति रात्रिकालीन गोल्डकप असोज २३ गतेदेखि, विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्ने

हाम्रो पेज

२१ भाद्र २०८३, आईतवार १६:३६

विराटनगर, २१ भाद्र I सुनसरीको वराहक्षेत्र नगरपालिका वार्ड नं. १० प्रकाशपुरमा प्रथम प्रदीप स्मृति रात्रिकालीन गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। आगामी असोज २३ गतेदेखि प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ I प्रतियोगिताको तयारी तीव्र रूपमा भईरहेको छ।

प्रकाशपुर युवा जमातको आयोजनामा तथा प्रकाशपुर फुटबल क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगितामा आयोजक टिमसहित जम्मा आठ टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो । स्थानीयस्तरमा फुटबल खेलको विकास, प्रतिभावान खेलाडीहरूको पहिचान तथा खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद दुईलाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद एकलाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। यसका अतिरिक्त प्रतियोगितामा विभिन्न विधाका आकर्षक व्यक्तिगत पुरस्कारहरू समेत प्रदान गरिनेछ।  प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद पाँचहजार प्रदान गरिनेछ। त्यसैगरी सर्वाधिक गोलकर्तालाई नगद पच्चिस हजार, उत्कृष्ट डिफेन्डरलाई नगद बीस हजार तथा उत्कृष्ट गोलरक्षकलाई नगद बीस हजार प्रदान गरिने आयोजक प्रकाशपुर युवा जमातका अध्यक्ष मनिष मगरले जानकारी दिनुभयो I

प्रतियोगिताको तयारी, सहभागी टोली, पुरस्कार राशी तथा व्यवस्थापन भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको प्रकाशपुर फुटबल क्लबका संयोजक सुशील सिग्देलले बताउनुभयो I प्रतियोगिताले प्रकाशपुर क्षेत्रको खेलकुद गतिविधिलाई थप उर्जा प्रदान गर्नुका साथै स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर उपलब्ध गराउने सिग्देलले बताउनुभयो ।