NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, १५ अषाढ I मलेसियामा जारी एसीसी यू १६ इस्ट जोन कपमा नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। आज भएको एकतर्फी खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्यो। क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर चारसय २० रनको पहाडसरी योगफल खडा गरेको थियो।
नेपालको उत्कृष्ट ब्याटिङमा ओपनर प्रसिद्ध जैशीले शतकीय पारी खेले। उनले एकसय १४ बलमा १५ चौका र १ छक्कासहित एकसय ३२ रन बनाए। अर्का ओपनर परिमार्जन यादवले २८ बलमै ४ चौका र ८ छक्का प्रहार गर्दै विष्फोटक ७१ रन जोडे। यी दुईबीच पहिलो विकेटका लागि केवल १० ओभरमा एकसय ३० रनको सानदार साझेदारी भएको थियो। त्यस्तै, रौनक श्रीवास्तवले ७१ बलमा ८८, जय थापाले ४१ बलमा ५७, सुगम बुढाथोकीले अविजित ३९ तथा रोशन शाहीले अविजित १० रनको योगदान दिए। चारसय २१ रनको असम्भवप्रायः लक्ष्य पछ्याएको इन्डोनेसिया नेपाली बलिङसामु निरीह देखियो र २४ दशलमव ३ ओभरमा मात्र ५० रनमा अलआउट भयो। नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले घातक बलिङ गर्दै ६ विकेट लिए। उनले ७ दशमलव ३ ओभरमा २ मेडन राख्दै मात्र १२ रन खर्चिए। इन्डोनेसियाका केभिन निरज चड्ढाले १५ र द्विविध नन्दले १४ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।
यो जितसँगै नेपाल समूह एु को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। उपविजेताको रूपमा सिंगापुरले पनि अन्तिम चारमा स्थान बनाएको छ। समूह ए बाट नेपालसँगै सिंगापुर सेमिफाइनलमा पुगेको छ। जापान, इन्डोनेसिया र भुटान सेमिफाइनल दौडबाट बाहिरिसकेका छन्। प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्। समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन्। समूह बी बाट हङकङ सेमिफाइनलमा पुगिसकेको छ। मलेसिया र थाइल्यान्डको अन्तिम चारमा पुग्ने सम्भावना जीवित छ। समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। नेपालले आफ्नो अन्तिम लिग खेल असार १७ गते भुटानसँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ गते हुनेछ।
