हाम्रो पेज

काठमाडौं, ३१ भाद्र । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा चार वटा शव फेला परेका हुन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार तीन वटा सग्लो शव र एउटा मानव अङ्ग भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङको ७० मिटर भित्र छिरेर गोताखोरले ती शव निकालिएका हुन्।

गत भदौ १० गते आएको विनाशकारी बाढीले चिलिमेसहित रसुवा र नुवाकोटका विभिन्न हाइड्रोपावरमा क्षति पुर्याएको थियो।भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो । त्यसयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी कार्य जारी छ । फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । सुरक्षा निकाय र सम्बन्धित निकायले शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन् । सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार त्यहाँ थप जीवित वा मृत मानिस हुनसक्ने सम्भावना छ ।