search logo
NOTIFICATIONS

देवानगञ्ज घटनामा थप एकजनाको मृत्यु, सुनसरी र सिरहामा गरी मृतक ४ पुगे

हाम्रो पेज

१९ श्रावण २०८३, मंगलवार १३:०६
गोली लागेपछि बायाँ खुट्टा गुमाएका रविन्द्र मेहताको उपचारको क्रममा निधन


विराटनगर, १९ श्रावण । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज ३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले मेहताको मृत्युको खबर आएको बताउनुभयो । । १० साउनमा दुई समुदायबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते हुनु भएको थियो । घाइतेमध्ये देवानगञ्ज ४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज ३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो । सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो । सिरहाको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहामा गणेश यादवको गोली लागेरै मृत्यु भएको थियो । रवीन्द्रको मृत्युसँग आन्दोलनमा मृत्यु हुनेको संख्‍या ४ पुगेको छ ।‌ घटनामा घाइते अन्य ६ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

शुक्रबार बिहान सरकारसँगको सातबुँदे सहमति पछि दुवै जनाको शव गोली लागेकै स्थानमा अन्त्येष्टि गरिएको थियो । यही घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रहरी गोली चलाउँदा गणेश यादवको पनि मृत्यु भएको थियो । बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा काटिएको थियो ।

देवानगञ्ज गोली काण्डका अर्का घाइते देवानगञ्ज ३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उहाँलाई हात र कोखमा गोली लागेको थियो । नोबेल शिक्षण अस्पतालबाट उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार काठमाडौं लगिएको थियो । सो घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । उहाँको शल्यक्रिया गरेर गोली निकालिएको छ । हरेरामको तिघ्राको माथिल्लो भागमा गोली लागेको थियो । अमलेशको बायाँ पिठ्युँमा गोली लागेको थियो । देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ । अमितकुमारको कम्मरमा गोली लागेको थियो । २६ वर्षीय सुनीलको बायाँ हातको कुहिनामा गोली लागेको थियो । २५ वर्षीय सुनिलको खुट्टामा गोली लागेको थियो ।