विराटनगर,९ चैत । मोरङको सुन्दरहरैँचा–२ मा एक युवक सडक छेउको नालीमा मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–२ का ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारी हिमाल चोकस्थित सडक छेउको नालीमा मृत भेटिएका हुन् । आज बिहान सडक छेउको घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार अधिकारीको शव नालीभित्र भेटिएको हो भने घटनास्थलनजिकै एउटा साइकल फेला परेको छ । रातका समयमा साइकल चढेर घर जाने क्रममा उनी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको छ । दाहाल नेतृत्वकै टोलीले घटनाको अनुसन्धान गरिरहेको हो । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।