पहिरो र सडक भासिँदा मेची राजमार्ग अवरुद्ध

हाम्रो पेज

२५ असार २०८३, बिहीबार १२:५५

विराटनगर, २५ असार । लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो।

निरन्तर वर्षाका कारण उक्त सडक खण्डमा साना तथा ठुला कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको छ। राजदुवाली सडक खण्ड बन्द भएपछि इलामवासी चिन्तित बनेका छन्। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोला–तिल्केनी सडकमा पनि हिलो र चिप्लोपनका कारण सवारी सञ्चालन गर्न कठिन भएको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो। उहाँका अनुसार उक्त सडकमा चारपाङ्ग्रे सवारी साधन मात्र सञ्चालन गर्न सकिने भए पनि अत्यधिक हिलो र चिप्लोपनका कारण जोखिम बढेको छ। यता, इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा द्रुतमार्ग अन्तर्गत पुवाखोलाको डाइभर्सनमाथिबाट बाढी बगिरहेकाले त्यहाँ पनि यातायात सञ्चालन प्रभावित भएको छ।

सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा खोला र जोगमाइ खोलामा जडान गर्ने भनिएका बेलीब्रिज भारतबाट हालसम्म नआएकाले समस्या समाधान हुन सकेको छैन। वर्षौंदेखि समस्या दोहोरिँदै आएको राजदुवाली सडक खण्डको स्थायी विकल्पको माग गर्दै आएका स्थानीयले सडक पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्ग निर्माणको मागलाई थप जोड दिएका छन्। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले इलाम सदरमुकाम जोड्ने भरपर्दो वैकल्पिक सडक नहुँदा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको बताउनुभयो।