उदयपुरमा हुरीबतासबाट दुईजनाको मृत्यु, ६ जना घाइते

हाम्रो पेज

३ चैत्र २०८२, मंगलवार ११:१५

उदयपुर, ३ चैत ।
उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार, सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको छ । यस्तै, कटारी–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । हुरीबतासकै कारण घाइते हुनेहरूमा कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ का मृतक चौधरीका नातिनी पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार रहेका छन् । घाइतेमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र अर्का २० वर्षीय कमलाकुमारी पुलामी मगरलाई विटाटनगर रिफर गरिएको प्रहरीले बताएको छ । अन्य चारजनाको सोमबार साँझ नै कटारी अस्पतालमा सामान्य उपचारपछि ‘डिस्चार्ज’ गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि कटारी अस्पतालमा ल्याइएको र अहिले परीक्षणको तयारी गरिएको सूचना अधिकारी थापाले बताउनुभयो । हुरीबतास र वर्षाका कारण कटारीको पहाडी क्षेत्रमा घरका छाना उडाएको र सामान्य क्षति भएको विवरणहरू प्राप्त भइरहेको प्रहरीले जनाएको छ । आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना समेत छ । हिजो पनि विभिन्न स्थानमा मेघगर्जन चट्याङ र असिनासहित पानी र हावाहुरी पनि चलेको हो । हावाहुरीका कारण केही जिल्लाहरुमा बिजुलीको पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएका छन् ।