हाम्रो पेज
काठमाडौं, ६ अषाढ I प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुरु गराएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण परियोजनामा भएको महत्त्वपूर्ण प्रगतिप्रति गहिरो खुसी र सन्तोष व्यक्त गर्नुभएको छ।
दैलेखमा नेपाललाई ५० वर्षसम्म पुग्ने ग्यासको विशाल भण्डार रहेको चिनियाँ विज्ञ टोलीको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यसलाई खुसीको समाचार भन्दै पुराना दिनहरूको स्मरण गर्नुभएको हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यो परियोजना सुरु गर्दाको संघर्ष र त्यसबेलाको मिश्रित प्रतिक्रियालाई सम्झनुभएको छ। उहाँले लेख्नुभएको छ, “पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु। समर्थन र विरोध-आवाज थरिथरिका थिए । एकसय १२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो।” उहाँको यो भनाइले परियोजनाको सुरुवातमा भोग्नुपरेका चुनौती र आलोचनाका बीच पनि आफूले लिएको अडान सही साबित भएकोतर्फ संकेत गरेको छ। यो महत्त्वपूर्ण उपलब्धिको जग २०७२ सालमा नै बसेको थियो। २०७२ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा द्विपक्षीय समझदारमा हस्ताक्षर भएको थियो। सोही समझदारीअनुसार, दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिने निर्णय भएको थियो। त्यही निर्णयअनुसार चिनियाँ प्राविधिक टोलीले गरेको ड्रिलिङ र अध्ययनपछि दैलेखको जलजलेमा एकसय १२ अर्ब घनमिटर मिथेन ग्यास को विशाल भण्डार रहेको प्रारम्भिक पुष्टि भएको हो। यो खोजले नेपालको ऊर्जा सुरक्षा र आर्थिक भविष्यमा एक युगान्तकारी परिवर्तन ल्याउन सक्ने आशा जगाएको छ।