अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु, ज्वाइँपनि गम्भिर

हाम्रो पेज

१२ फाल्गुन २०८२, मंगलवार १२:०३

एजेन्सी, १२ फाल्गुन । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले श्रीमती र छोरीको हत्या गर्दै ज्वाइँलाई आक्रमण गर्दा प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको छ । ५० वर्षीय छत्रबहादुर थापाले परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा श्रीमती र छोरीको मृत्यु भएको हो भने ज्वाइँ घाइते छन् । प्रहरीको गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ । घटना फेयरफ्याक्स काउन्टीस्थित पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टको हो । घटना देखेपछि छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए । छत्रबहादुरले ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् । छत्रबहादुरले ज्वाइँ सन्तोषलाई पनि आक्रमण गरेका थिए । प्रहरीले छत्रबहादुरलाई सन्तोषमाथि आक्रमण गरिरहेको बेला पक्राउ गरेको हो । प्रहरीले हतियार फाल्न आदेश दिँदा नमानेपछि गोली चलाउँदा छत्रबहादुरको पनि मृत्यु भएको हो । घाइते सन्तोषको अवस्था गम्भीर छ । परिवारका सदस्य एक वर्षीय शिशु भने सुरक्षित छन् । परिवारको पृष्ठभूमि आपराधिक नभए पनि यो घरभित्रैको यो वीभत्स हत्याकाण्ड देखेर प्रहरी नै अचम्मित भएका छन् । प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको जनाएको छ । यो घटनालाई प्रहरी प्रमुख केभिन डेभिसले ‘कल्पनाबाहिरको बीभत्स दृश्य’ भनेका छन् । घटनाको समयमा छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए। भित्र झगडा भएको आवाज सुनेर ९११ मा फोन गर्दै उनी घरभित्र पस्दा आफ्नी श्रीमती ३१ वर्षीया ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रक्ताम्मे अवस्थामा फेला पारे। उनीहरुको हत्यापछि छत्रबहादुरले सन्तोषमाथि पनि सोही हतियारले आक्रमण सुरु गरेका थिए। प्रहरी अधिकारीहरू घटनास्थल पुग्दा छत्रबहादुरले सन्तोषमाथि प्रहार गरिरहेको अवस्थामा फेला पारेका थिए। प्रहरीले पटक(पटक हतियार फाल्न दिएको आदेश नमानेपछि एक युवा प्रहरी अधिकारीले गोली चलाउँदा आक्रमणकारी छत्रबहादुरको घटनास्थलमै मृत्यु भएको छ। यस भीषण आक्रमणमा परी बिन्दा थापा र ममता थापाको मृत्यु भएको छ भने गम्भीर घाइते सन्तोष कुमार बस्नेतको अवस्था अत्यन्तै नाजुक रहेको छ।