हाम्रो पेज
विराटनगर, १३ अषाढ I सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै जिउँदो भाइलाई मृत घोषणा गरी जग्गा बिक्री गरेको एक सनसनीपूर्ण र दुःखद घटना विराटनगरमा सार्वजनिक भएको छ।
विराटनगर महानगरपालिका–२ का भरतबहादुर बस्नेतले आफ्ना ७० वर्षीय भाइ केदारबहादुर बस्नेतलाई मृत देखाएर उनको अंशको जग्गा हडपेको आरोप लागेको हो। पीडित केदारबहादुर बस्नेत, जो नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षक इन्स्पेक्टर हुनुहुन्छ । हाल उहाँ काठमाडौंमा बस्दै आउनुभएको छ। दाजु भरतबहादुरले विराटनगर महानगरपालिका–२ को वडा कार्यालयबाट २०७५ साल असोजमा, केदारको २०५८ सालमै मृत्यु भइसकेको भनी कीर्ते सरजमिन मुचुल्का बनाएको खुलेको छ।
सुनसरीस्थित पैतृक सम्पत्ति बिक्री भएपछि मात्र आफूलाई मृत घोषणा गरिएको कागजात बनेको थाहा पाएको पीडित केदारबहादुरले बताउनुभयो। मलाई यसबारे कुनै जानकारी नै थिएन। दाजुले २०५८ मै मरेको भनेर सरजमिन बनाउनु भएछ, उहाँले भन्नुभयो, सुनसरीको जग्गा बिक्री भएपछि सोधीखोजी गर्दा मात्र यो जालसाजीबारे थाहा पाएँ।
आफू जिउँदै हुँदा मृत्युको कीर्ते कागजात बनाएर सम्पत्ति हडपेको भन्दै उहाँले जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्नुभएको छ, जुन हाल विचाराधीन अवस्थामा छ। उहाँले आफ्ना दाजु भरतबहादुर, वडाध्यक्ष कुमार पोखरेल र तत्कालीन वडासचिव सूर्यबहादुर थापासहित १० जनालाई प्रतिवादी बनाउनुभएको छ।
पारिवारिक स्रोतका अनुसार, बुवा पहलमान बस्नेतका तीन श्रीमतीमध्ये केदार कान्छी आमातर्फका छोरा हुन् भने आरोपी भरतबहादुर माइली आमातर्फका छोरा हुन्। विवादित जग्गा जेठीआमा मायादेवीको नाममा थियो, जसको मृत्यु २०४५ सालमा भएको थियो। जेठीआमाको नाममा रहेको सुनसरी, हाँसपोसाको ३ कट्ठा ८ धुर जग्गा एकलौटी बनाउन भरतबहादुरले अंशियारमध्येका एक, भाइ केदारलाई मृत घोषणा गराएका थिए। विराटनगर २ वडा कार्यालयले २०७५ असोज १७ गते केदारको मृत्यु भइसकेको व्यहोराको सरजमिन मुचुल्का तयार पारेको र सोही आधारमा असोज १९ गते मालपोत कार्यालय, सुनसरीलाई सिफारिस गरेको थियो। यही कीर्ते कागजातका आधारमा जग्गा आफ्नो नाममा ल्याएपछि भरतबहादुरले २०८१ सालमा त्यसमध्ये डेढ कट्ठा जग्गा ७२ लाख रुपैयाँमा बिक्री गरेको पीडित केदारले बताउनुभयो।