हाम्रो पेज

चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र निवर्तमान उपसभापति डा। स्वर्णिम वाग्लेले मतदान गरेसँगै केन्द्रीय सदस्य चयनका लागि गरिएको चुनाव सकिएको छ । आज अन्तिम समयमा सभापति लामिछाने र निवर्तमान उपसभापति वाग्लेले मतदान गर्नुभएको हो । लामिछानेले ५५ नम्बर र वाग्लेले २० नम्बरको मेसिनबाट मतदान गर्नभएको हो । रास्वपाका संस्थापक सभापति रवि लामिछाने सर्वसम्मत सभापति निर्वाचित भइसक्नु भएकोछ भने निवर्तमान उपसभापति वाग्ले केन्द्रीय सदस्य पदका उम्मेदवार हुनुहुन्छ । उहाँ दोस्रो चरणमा उपसभापति पदको उम्मेदवार बन्ने जनाइएको छ ।केन्द्रीय सदस्य पदका लागि करिव २,९५० महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । विदेशमा रहेका प्रतिनिधिहरुले भने मोबाइल एपबाट मतदान गरेका छन् । विद्युतीय मतदान मेसिन र मोबाइल एपबाट भएको मतदानको विवरण केहीबेरमा निर्वाचन आयोगले सार्वजनिक गर्नेछ ।
अब तत्कालै मतगणना सुरु हुने आयोगको भनाइ छ । दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि आज मतदान भएको छ । पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जना उम्मेदवार छन् । जसमा खुलातर्फ २१० जना र भूगोलतर्फ १७४ जना उम्मेदवार छन् । एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जना उम्मेदवार छन् । सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ ।
दोस्रो चरणमा कुन कुन पदमा हुँदैछ चुनाव ?
रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै दोस्रो चरणको तयारी थालेको छ। प्रवक्ता मनिष झाका अनुसार ४ बजेबाट दोस्रो चरणको निर्वाचन थाल्नेगरी आयोगले काम गरिरहेको छ। रास्वपाको सभापतिमा रवि लामिछाने भइसक्नु भएको छ भने प्रधानमन्त्री बालेन शाहलाई सभापतिले वरिष्ठ नेतामा मनोनित गर्नुहुनेछ । दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्री पदको लागि निर्वाचन हुने प्रवक्ता झाले बताउनुभयो । १९ सदस्यीय पदाधिकारी रहेको रास्वपामा ३ उपसभापतिमध्ये १ जना मनोनीत गर्ने व्यवस्था छ । यस्तै, २ महामन्त्रीमध्ये १ जना, ५ सहमहामन्त्रीमध्ये २ जना मनोनित हुने व्यवस्था रास्वपाको विधानले गरेको छ। पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको चुनावमा २९५९ मत खसेको थियो। ४३११ प्रतिनिधिमध्ये रहेको रास्वपामा १३५२ जना मतदानमा अनुपस्थित भए ।