
काठमाडौं, १० पुष । वैकल्पिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान टू वान वार्ता सुरु भएको छ । बालेन समूहका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा वार्ता सुरु भएको हो । यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो ।छलफलबाट बाहिरिने क्रममा कांग्रेस नेता शर्माले प्रतिनिधिसभा पुनर्स्थापना भए के हुन्छ भन्नेबारेमा आफूले बालेनसँग छलफल गरेको बताउनुभयो । अहिले रवि लामिछानेले सोही ठाउँमा बालेनसँग वार्ता थाल्नु भएको छ । रविका साथमा असिम शाह, गणेश कार्की पनि त्यहाँ पुग्नु भएको छ । वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल, जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल नामका अध्यक्ष सुदन गुरुङ पनि त्यहाँ पुग्नु भएको छ । यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो । रास्वपा नेता शाहको कमलपोखरीस्थित घरमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । यिनै सेरोफेरोमा केन्द्रित रहेर दुई नेताबीच छलफल चलेको नेताहरूले बताएका छन् । बालेनले आजै बिहान पनि ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गर्नुभएको छ । बालेन शाहले पछिल्लो समय देश विकास पार्टीबाटै राजनीति अघि बढाउने तयारी गर्नुभएकोछ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ। घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत भएको कुलमान र बालेनसँग नजिक रहेर काम गरिरहेका स्रोतहरूले बताए। देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ। यसको अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न लौरो छ। लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित हुनु भएको थियो । बालेन र कुलमानबीच देश विकास पार्टीबाटै प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार उठाउने सहमति पनि भएको छ र सोहीअनुसार शनिबारसम्म ११० क्षेत्रका उम्मेदवार तय गरेर पुस १३ र १४ गते निर्वाचन आयोगमा सूची बुझाउने तयारी गरिएको छ । मेयर बालेनले कुलमानसँग मात्र होइन, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतसँग पनि छलफल गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरू नयाँ पार्टी र स्वतन्त्र व्यक्तिहरूलाई समेटेर देश विकास पार्टीलाई अघि बढाउन लागिएको उनीहरूले बताएका छन्।‘सिके राउत, रेशम चौधरी, अमरेशकुमार सिंहलगायतसँग पनि मेयर बालेनले भेटेर कुराकानी गर्नुभएको छ,’ उनीनिकट स्रोतले भन्यो, ‘रक्षा बमलगायत जेनजी अभियानीहरूसँग पनि कुरा भएको छ। सबैलाई समेटेर देश विकास पार्टीलाई अघि बढाउने तयारी छ।’ रेशम चौधरी आफूहरू मिलेर जाने कुरा सञ्चार माध्यमहरूमा बताउनु भएको छ। रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच हालै कमलपोखरीमा ६ घन्टा छलफल भएको थियो। त्यसबेला उनीहरूबीच कुनै ठोस सहमति बन्न नसकेको बालेननिकट स्रोतले बतायो। यस्तै काठमाडौंका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरूलाई एकजुट गर्न रक्षा बमलाई जिम्मेवारी दिनुभएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जेनजीहरूलाई पनि सहभागी गराउन नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई मेयर शाहले जिम्मेवारी दि नुभएको हो । बुधबार बालेनले आफ्ना सहयोगी कुमार व्यञ्जनकारको ललितपुरको कुपण्डोलस्थित घरमा रक्षा बमसहित विभिन्न व्यक्तिहरूसँग राजनीतिक संवाद गर्नुभएको थियो । बुधबार करिब ३ बजेदेखि साँझ ६ बजेसम्म बालेन र उनको सचिवालय सदस्यहरूसँग छलफल भएको थियो। बालेनका एक सचिवालय सदस्यका अनुसार रक्षा बमलाई जेनजी प्रतिनिधिहरू भित्र्याउन जिम्मेवारी दिइएको छ। सहिद परिवार, जेनजीका विभिन्न समूहसँग छलफल गर्नका लागि रक्षालाई जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने दिन नजिकिएपछि बालेनले आफ्नो तर्फबाट गृहकार्य अघि बढाउनु भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गतेभित्र बन्दसूची बुझाइसक्नुपर्छ। प्रतिनिधिसभाको फागुन २१ गते हुन लागेको निर्वाचनमा सहभागी हुने विषयमा बालेन पछिल्लो समय सक्रिय भएर लाग्नु भएको छ ।